सर्लाही – मधेशमा खानेपानी समस्यालाई समाधान गर्न प्रदेश र संघीय सरकार संयुक्त रूपमा अघि सर्ने भएका छन्। जनकपुरधाममा सोमबार भएको भेटवार्तामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवबीच यस्तो सहमति भएको हो।
भेटपछि दुवै नेताहरूले खानेपानी संकट समाधानलाई अभियानकै रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। संघीय तथा प्रदेश सरकारका संयन्त्रहरूलाई एकसाथ परिचालन गरी तत्कालै कार्य सुरु गर्ने मुख्यमन्त्री सिंहले जानकारी दिए।

“मधेशका जनता अहिले खानेपानीको अभावमा छन्। यो समस्या समाधानमा कुनै ढिलाइ हुँदैन। तत्कालै योजनाहरू कार्यान्वयनमा ल्याइन्छ,” सिंहले भने। उनका अनुसार संघ र प्रदेश दुवैले खानेपानीसम्बन्धी शसर्त योजनाहरूलाई कार्यान्वयनमा ल्याउन आवश्यक तयारी गरिरहेका छन्।
वर्षा अभावका कारण यस वर्ष मधेशमा धान रोपाइसमेत प्रभावित भएको छ। अधिकांश जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ। जनताको पीडामा साथ दिँदै सरकारसँगको अनुभूति दिलाउनेगरी काम अघि बढाउने प्रदेश सरकारले जनाएको छ।
उक्त अवसरमा प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत विज्ञ तथा कर्मचारीहरू पनि सहभागी थिए।
सुक्खाको मार खेपिरहेको मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। कृषिमा परेको प्रतिकूल असरका कारण किसानलाई राहत प्याकेज उपलब्ध गराउन मधेश सरकारले संघीय सरकार र दातृ निकायहरूसँग सहयोगको माग समेत गरिसकेको छ।





