धर्मान्तरणको अन्तर्राष्ट्रिय सिन्डिकेट: भारतमा पर्दाफास, नेपाल हुँदै करोडौंको फन्डिङ

२०८२ श्रावण १, बिहीबार ०८:५८
जलालुद्दिन उर्फ ‘छंगुर बाबा’

सर्लाही – भारतको उत्तर प्रदेशस्थित आतंकवाद विरोधी दस्ताले (एटीएस) भारतमा चलिरहेको एउटा संगठित, अन्तर्राष्ट्रिय र राज्यपार धार्मिक धर्मान्तरण सिन्डिकेटको पर्दाफास गरेको छ। जलालुद्दिन उर्फ ‘छंगुर बाबा’ नामका व्यक्तिले सञ्चालन गरेको भनिएको उक्त गिरोहले हजारौं गैर मुस्लिम, विशेषतः हिन्दु महिला, विधवा, दलित र बालबालिकालाई इस्लाम धर्ममा रूपान्तरण गराएको आरोप लागेको छ।

छंगुर बाबा बलरामपुर जिल्लाको माधपुर गाउँका बासिन्दा हुन्। प्रारम्भिक अनुसन्धान अनुसार उनले आर्थिक रूपले कमजोर समुदाय लक्षित गरी स्वास्थ्य, रोजगार र मानसिक उपचारको बहानामा आफूतिर आकर्षित गर्ने गर्थे। त्यसपछि धर्म परिवर्तनका लागि दबाब दिने वा विदेशी रकमको लोभ देखाइने गरिएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए), एटीएस र आर्थिक अपराध अनुसन्धान विभाग (ईडी) ले संयुक्त अनुसन्धानमार्फत् छंगुर गिरोहसँग दुबई, खाडी मुलुक र नेपालसम्म फैलिएको आर्थिक सञ्जाल पत्ता लगाएका छन्। एनआरई/एनआरओ खातामार्फत करोडौं रुपैयाँ विदेशी फन्ड भारत भित्रिएको पाइएको छ। तीमध्ये ठूलो हिस्सा नेपाल हुँदै भारत पुगेको उल्लेख गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो गिरोहमार्फत २ सय करोड भारतीय रुपैयाँभन्दा बढी रकम नेपालबाट भारत पठाइएको छ भने थप ३ सय करोड रुपैयाँ पठाउने तयारी भइरहेको थियो। नेपालका सीमावर्ती जिल्ला रूपन्देही, नवलपरासी, बाँके र काठमाडौंमा सयभन्दा बढी बैंक खाता, एजेन्ट र संस्थाहरू प्रयोग गरिएको दाबी गरिएको छ।

धर्मान्तरणको अभियान भने ‘स्वास्थ्य शिविर’, ‘शैक्षिक सहयोग’, ‘धार्मिक साहित्य वितरण’ आदि कार्यक्रमहरूको नाममा अघि बढाइने गरिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार धर्म परिवर्तन गराउने व्यक्तिहरूलाई निश्चित दरमा रकम दिइन्थ्यो पुरुषलाई ५० हजार, महिलालाई १ लाख, दलित महिलालाई १ लाख ५० हजार भारतीय रुपैयाँ। उक्त सम्पूर्ण फन्ड विदेशी स्रोतबाट आएको अनुमान गरिएको छ।

उत्तर प्रदेश सरकारले गिरोहविरुद्ध कडा कदम चालेको छ। बलरामपुरस्थित ३ करोड मूल्यको आश्रममा बुलडोजर चलाइएको छ भने छंगुर बाबा, उनका छोरा जमालुद्दिन, सहकर्मी नसरिन (उर्फ नीतु) र मेहबुब पक्राउ परिसकेका छन्। हाल उनीहरू लखनऊ जेलमा नजरबन्दमा छन्। अनुसन्धान अन्तर्गत मोबाइल, इलेक्ट्रोनिक सामग्री, बैंक खाताहरू र अन्तर्राष्ट्रिय सम्पर्कहरूको अध्ययन भइरहेको छ।

छंगुर गिरोहका नेपालमा प्रत्यक्ष उत्तराधिकारी पुष्टि नभए पनि तराईका इस्लामिक शिक्षालय तथा स्थानीय संघसंस्थामा आबद्ध केही व्यक्तिहरू यस गिरोहसँग आबद्ध रहेको सुराकी आएको छ। कतिपयले हिन्दु नाम र पहिचान कायम राख्दै नागरिकता प्रयोग गरी धर्म परिवर्तनलाई वैधता दिने प्रयाससमेत गरेका थिए।

नेपाल प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले भने अहिलेसम्म छंगुर बाबाको नेपालस्थित गतिविधिसम्बन्धी कुनै औपचारिक जानकारी नभएको बताएका छन्। यस घटनापछि भारतमा धर्मान्तरणविरुद्धको कानुनी बहस पुनः चर्किएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले छंगुर गिरोहको गतिविधिलाई राष्ट्रविरोधी र समाज विघटनकारी भन्दै तीव्र आलोचना गरेका छन्।

खुला सीमा र कमजोर निगरानी व्यवस्थाका कारण यस्तो सञ्जाललाई सहजता मिलेको भन्दै नेपालभित्र पनि सामाजिक संस्था, धार्मिक शिक्षालय र बैंकिङ प्रणालीमा निगरानी कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार