देश असफलतातर्फ धकेलिँदैछ: प्रचण्ड

२०८२ श्रावण १, बिहीबार १३:३२
file image

सर्लाही – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको सरकारमाथि गम्भीर आरोप लगाउँदै देशलाई असफल बनाउने दिशामा उन्मुख भएको बताएका छन्।

ललितपुरमा बिहीबार आयोजित ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “सुशासनको विरोधमा खडा भएको यो सरकार भ्रष्टाचार र कुशासनको पराकाष्ठा देखाउँदै देशलाई असफलतातर्फ लैजाँदैछ।”

उनले सरकारलाई समयमै खबरदारी नगरे जनआक्रोश सडकमा उर्लिने चेतावनी पनि दिए। “यदि सरकारले भ्रष्टाचारको बाटो छोडेन भने प्रतिवाद सडकबाट हुनेछ,” प्रचण्डको कडा भनाइ थियो। सरकारका हरेक कदममा भ्रष्टाचार देखिएको आरोप लगाउँदै उनले भने, “जहाँ सरकारको पाइला पर्छ, त्यहीँ भ्रष्टाचार देखिन्छ, सुशासनको कुनै चिनो छैन।”

प्रचण्डले देश संवैधानिक, गणतान्त्रिक मूल्यमान्यता, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भमा निकै संवेदनशील मोडमा रहेको उल्लेख गरे। “आज हामी संवैधानिक व्यवस्थाको संरक्षण, सामाजिक न्यायको स्थापना र समृद्धिको यात्रामा गम्भीर चुनौती भोगिरहेका छौं,” उनले बताए।

कार्यक्रममा प्रचण्डले युवालाई श्रम र उत्पादनमा जोड्नुपर्नेमा जोड दिँदै भने, “युवाशक्तिलाई संगठित गरी परिवर्तन उल्ट्याउन खोज्ने शक्तिहरूको विरुद्ध निर्णायक सफलता हासिल गर्न सकिन्छ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार