तीन महिनामा विपद्को कहर: ९३ को मृत्यु, २२ अझै बेपत्ता

२०८२ श्रावण १, बिहीबार १५:००

सर्लाही – नेपालमा यो वर्षको वैशाखदेखि असार महिनासम्मको तीन महिनाको अवधिमा २ हजार ६५ वटा विपद्सम्बन्धी घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यिनै घटनाहरूका कारण ९३ जनाले ज्यान गुमाएका छन् भने २२ जना अझै बेपत्ताको अवस्थामा छन्।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव सुरेश सुनारका अनुसार यी घटनाहरूमा ४४५ जना घाइते भएका छन्। विपद्को चपेटामा परेर ४ हजार १३६ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। २०७९ सालको पछिल्लो तीन महिनाको विवरण बिहीवार सार्वजनिक गर्दै प्राधिकरणले बाढीका १३७ वटा घटना दर्ता भएको जनाएको छ। बाढीका कारण १३ जनाको मृत्यु हुनुका साथै २२ जना बेपत्ता भएका छन्।

रसुवाको भोटेकोशी क्षेत्रमा असार २४ गते आएको बाढी सबैभन्दा बढी मानवीय क्षति भएको घटना थियो, जुन माथिल्लो भागमा भएको हिमताल विस्फोटका कारण आएको हो। त्यस्तै, देशभर पहिरोका १७५ घटना भएकोमा ६ जनाको ज्यान गएको छ। चट्याङ लागेर २६, आगलागीबाट १४, बन्यजन्तुको आक्रमणबाट १२ र लेक लागेर ११ जनाले ज्यान गुमाएका छन्।

यस्तै, हावाहुरी, सर्पदंश, भारी वर्षा र अन्य घटनाले पनि मानवीय क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। बाढीबाट १ हजार २४६ परिवार र आगलागीबाट १ हजार ४८ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। पहिरो, चट्याङ, सर्पदंश, हावाहुरी र वन डढेलोजस्ता घटनाहरूले सयौं परिवारको जनजीवन अस्तव्यस्त बनाएको देखिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार