सर्लाही – डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले प्रदेश सरकारबाट विशेष सम्मान प्राप्त गरेका छन्।
बिहीबार जनकपुरधाममा आयोजित एक समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले झालाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन्। वन संरक्षण, अतिक्रमण नियन्त्रण तथा दीर्घकालीन व्यवस्थापनमा पुर्याएको योगदानको कदर गर्दै प्रदेश सरकारले उनलाई सम्मानित गरेको हो।

सागरनाथ वन विकास परियोजना र सर्लाही जिल्लाको वन क्षेत्रमा झाले देखाएको सक्रियता र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरिएको छ। विशेषतः बागमती नगरपालिका क्षेत्रभित्रको सागरनाथ वन परियोजनाको जग्गा अतिक्रमण प्रकरणमा झाको पहल उल्लेखनीय मानिएको छ।
तत्कालीन मेयर भरत थापा लगायतविरुद्ध सार्वजनिक सम्पत्तिमा अतिक्रमण गरी मानव निर्मित ताल बनाएको आरोपमा अदालतमा मुद्दा दायर गर्दै उनले कानुनी प्रक्रियालाई अघि बढाएका थिए। वर्षौंदेखि थातथलोमा परेको उक्त मुद्दालाई झाले पुनः प्राथमिकतामा ल्याउँदै कानुनी मोड दिएका कारण उनको नेतृत्वको मूल्याङ्कन गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।





