नेपालमा अब टेलिग्राम नचल्ने

२०८२ श्रावण २, शुक्रबार १८:२७

सर्लाही – लोकप्रिय मेसेजिङ एप ‘टेलिग्राम’ अब नेपालमा प्रयोग गर्न नपाइने भएको छ। सरकारले शुक्रबारदेखि टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक तथा मोबाइल अपरेटरलाई टेलिग्रामको पहुँच तत्काल रोक्न निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार हाल टेलिग्राममार्फत अनलाइन ठगी, अवैध वित्तीय कारोबार (मनी लाउन्डरिङ) जस्ता आपराधिक गतिविधिहरू तीव्र रूपमा बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो।

‘टेलिग्राममार्फत हुने साइबर अपराधको दर बढ्दै गएको पाइएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ, ‘यसले मनी लाउन्डरिङजस्ता गम्भीर अपराधलाई समेत प्रोत्साहन गरिरहेको देखिएकाले सेवा प्रदायकहरूलाई एपको पहुँच रोक्न निर्देशन दिइएको हो।’

प्राधिकरणको निर्देशनसँगै अब नेपालमा टेलिग्राम एप प्रयोग गर्न सकिने छैन। यसअघि पनि सरकार विभिन्न अनलाइन माध्यमहरूमा नियन्त्रणका प्रयास गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार