सर्लाही – मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवका स्वकीय सचिव चन्देश्वर महतो आवश्यक शैक्षिक योग्यता नपुगी प्रथम श्रेणी (सहसचिव स्तर) को सुविधा लिएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा छानबिन गरी महतोले गैरकानुनी रूपमा पाएको सेवा सुविधा फिर्ता गर्न निर्देशन दिँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।
छानबिनका क्रममा महतोले स्नातक तह अध्ययन नगरेको पुष्टि भएको अख्तियारको निष्कर्ष छ। पहिलो श्रेणीका पदमा नियुक्तिका लागि अनिवार्य शैक्षिक योग्यता स्नातक तह हो भने पनि उनले प्रविणता प्रमाणपत्र मात्र अध्ययन गरेको प्रमाण पेश गरेका थिए। यद्यपि उनी करिब १० महिना प्रथम श्रेणीका कर्मचारीसरह तलबसुविधा लिँदै आएका थिए।

महतोले त्यस अवधिमा मासिक ५७ हजार ७ सय ८७ रुपैयाँ तलब, सरकारी सवारी र मधेश भवनमा आवासको सुविधा समेत उपयोग गरेका थिए। पूर्वमुख्यमन्त्री यादवले उनलाई नियुक्त गर्दा योग्यता नपुगेको विषयप्रति बेवास्ता गरिएको देखिन्छ।
यसअघि अख्तियारले नियुक्तिसम्बन्धी विवरण माग्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘प्रमुख स्वकीय सचिवको नियुक्ति मुख्यमन्त्रीको विशेषाधिकारभित्र पर्छ’ भन्ने जवाफ दिएको थियो। तर पछिल्लो अनुसन्धानले नियुक्ति प्रक्रिया र योग्यता दुवैमा प्रश्न उठाएको छ।
मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी जयकुमार राउतले अख्तियारमा महतोविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेका छन्। तर महतोले भने आफूले अख्तियारको कुनै निर्देशन नपाएको दाबी गर्दै, पद राजनीतिक नियुक्ति भएकाले जवाफ पेस गरिसकेको बताए।
उनले भने, ‘अहिलेसम्म सेवा सुविधा फिर्ता गर्न कुनै पत्र आएको छैन। नियुक्ति राजनीतिक भएको हुँदा त्यसको जवाफ मैले अख्तियारमा दिइसकेको छु।’ यद्यपि कानुनअनुसार सहसचिव सरहका राजनीतिक नियुक्तिहरूमा पनि न्यूनतम स्नातक शैक्षिक योग्यता अनिवार्य मानिन्छ। पूर्वमुख्यमन्त्री यादवले भने सो योग्यता नपुगेका महतोलाई नियुक्त गरेर नियमविपरीत कदम चालेका छन्।





