सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका – ११ स्थित इलाका प्रहरी कार्यालय हिरापुर बैरजका सबै प्रहरी कर्मचारीलाई फेर्ने निर्णय गरिएको छ। इन्चार्ज सई (प्रहरी नायब निरीक्षक) बैद्यनाथ दास र प्रहरी जवान सन्तोष यादव निलम्बनमा परेपछि प्रहरी प्रशासनले यस्तो कदम चालेको हो।
तस्करीका घटनामा संलग्न रहेको आरोप लागेपछि सई दास र जवान यादवलाई गत शुक्रबार निलम्बन गरिएको थियो। उनीहरूले तस्करसँग मिलेमतो गरी रकम मागेको आरोप छ। सो घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले विवाद समाधानका लागि सम्पूर्ण प्रहरी युनिट नै परिवर्तन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार विवादित ठाउँमा पुरानै प्रहरी रहँदा निष्पक्षता र विश्वासको संकट आउन सक्ने भएकाले सम्पूर्ण टोली फेर्नु उपयुक्त ठानिएको हो। हाल हिरापुर प्रहरी चौकीको नेतृत्वका लागि कुनै निश्चित इन्चार्ज तोकिएको छैन।
तर तत्कालका लागि बरहथवा इलाका प्रहरी कार्यालयमा कार्यरत असई तुल्सी राउतलाई अस्थायी रुपमा पठाइएको डिएसपी राईले जानकारी दिए। यसअघि उक्त कार्यालयमा १० जना प्रहरी कार्यरत थिए, एक जना सई, एक जना वरिष्ठ हवल्दार, चार जना हवल्दार, एक जना वरिष्ठ जवान र तीन जना जवान।
निलम्बित इन्चार्ज बैद्यनाथ दासले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार चैत महिनामा तस्कर राजिप यादवको सामान समातेर भन्सार बुझाएकै कारण योजनाबद्ध रूपमा आफूलाई फसाइएको हो।
सम्बन्धित खबर:
– तस्करसँगको घुस अडियो बाहिरिएपछि हिरापुरका सई निलम्बनमा





