मलंगवा – सर्लाही जिल्लाका सबै २० स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। लाभग्राहीहरूले भदौ मसान्तभित्र आफ्नो विवरण नवीकरण नगरेमा भत्ता काटिने चेतावनी दिइएको छ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ अनुसार प्रत्येक आर्थिक वर्षको साउन १ देखि भदौ मसान्तसम्म लाभग्राहीले आफ्नो भत्ता नवीकरण गर्नुपर्ने नियम छ। सोही आधारमा सर्लाहीका ११ नगरपालिका र ९ गाउँपालिकाले सेवा प्राप्त गर्दै आएका नागरिकहरूलाई नजिकको वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

पर्सा गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख महेश पाण्डेले पालिकाका सबै वडामा बिहीबारदेखि नवीकरण कार्य थालिएको जानकारी दिए। “निर्धारित समयमा नवीकरण नभएमा प्रणालीबाट लाभग्राहीको नाम हट्नेछ र साउन महिनादेखि भत्ता प्राप्त गर्न नसकिने” उनले बताए।
बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरू मुख्य लाभग्राही हुन्। ईश्वरपुर नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख सरोज चौलागाईका अनुसार, भत्ता लिइरहेका व्यक्तिले व्यक्तिगत रूपमा उपस्थित भएर बायोमेट्रिक प्रणालीमार्फत नवीकरण गर्नुपर्नेछ।
नवीकरण कार्य सुरु भएसँगै वडा कार्यालयहरूमा सेवाग्राहीको भीड बढ्न थालेको छ। स्थानीय तहले सजिलो र प्रभावकारी सेवा दिन आवश्यक तयारी मिलाएको बताईएको छ।





