सर्लाही – देशभर आगामी तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका अधिकांश भागमा आंशिकदेखि साधारण बदली रहनेछ । विशेषगरी कोशी प्रदेशका धेरै स्थानहरू, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि उल्लेख गरिएको छ । साथै, उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ ।

आइतबार देशभर साधारण बदली रहने देखिएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश र देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
आइतबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ । ती क्षेत्रका केही स्थानमा भारी वर्षा हुने जोखिम पनि देखिएको छ ।
सोमबार पनि देशभर सामान्य बदली रहने र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने संभावना जारी छ ।
महाशाखाले आगामी तीन दिनमा भारी वर्षा हुने सम्भावना भएका क्षेत्रहरूमा सतर्कता अपनाउन र जोखिमबाट जोगिन सचेत हुन आग्रह गरेको छ । विशेष गरी पहाडी तथा हिमाली भेगमा भूस्खलन, बाढी र अन्य प्राकृतिक विपद् जोखिम रहने भएकाले स्थानीय तह र सरोकारवाला निकायहरू तयारीमा जुट्न आवश्यक रहेको छ ।





