सर्लाही – रौतहटका पत्रकार रविन्द्र प्रजापतिको झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय प्रजापति शनिबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि उपचारका लागि लगिएको भए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रजापतिको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ। गरुडास्थित म्युजिकल एफएममा कार्यरत प्रजापति रेडियो पत्रकारिता गर्दै आएका थिए। समाचार लेखन र वाचनमा सक्रिय रहेका उनले हालै कटहरिया नगरपालिकाको खानेपानी समस्या सम्बन्धी समाचार सम्प्रेषण गरेका थिए।

सो समाचारपछि नगर प्रमुख अजयप्रकाश जयसवालले उनलाई गालीगलौजसहित धम्की दिएका थिए । मेयरको धम्कीपछिका दिनहरूमा पत्रकार प्रजापति गहिरो मानसिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ। स्थानीयका अनुसार उनी डरका कारण घर बाहिर निस्कनसमेत छाडेका थिए।
यही तनावले अन्ततः उनले आत्महत्या रोजेको हुनसक्ने आशंका गरिएको छ। यसअघि पनि पत्रकारलाई दिएको धम्कीको विरोधमा प्रेस चौतारी नेपाल, रौतहट शाखाले जेष्ठ २९ गते प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मेयर जयसवालमाथि छानबिन र कारबाहीको माग गरेको थियो।
चौतारीका जिल्ला अध्यक्ष अशोक पहाडीद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथि दुर्व्यवहार अस्वीकार्य रहेको उल्लेख गरिएको थियो। तर, डिएसपी कार्कीले भने धम्कीबारे आफूलाई जानकारी नभएको बताएका छन्। “मेयरले धम्की दिएको भन्ने कुरा हालसम्म पुष्टि भएको छैन,” उनले भने, “घटनाको अनुसन्धान भइरहेकाे छ।”





