सिमा नाकामा सुरक्षाको सट्टा सौदाबाजी, सर्लाही प्रहरी फेरि विवादमा

२०८२ श्रावण ४, आईतवार ११:०१

मलंगवा – सर्लाही जिल्लामा पछिल्ला दिनमा सार्वजनिक भएका तीन वटा ध्वनि रेकर्डले सीमा क्षेत्रका प्रहरी चौकीहरू तस्करीको सञ्जालमा संलग्न रहेको आशंका बलियो बनाएको छ। ती रेकर्डहरूमा प्रहरी अधिकारीहरू तस्करहरूसँगको संवाद, धम्की र गैरकानुनी लाभको सौदाबाजी स्पष्ट रूपमा सुन्न सकिन्छ।

असार २० गते सार्वजनिक भएको पहिलो रेकर्डमा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादव र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र खड्का बीचको चर्काचर्की समेटिएको छ।

मलंगवामा रहेको पूर्वाधार विकास कार्यालयमा प्रहरीद्वारा दिइएको सुरक्षालाई लिएर यादवले एसपी खडकालाई “मधेश लुट्न आएको” आरोप लगाउँदै आपत्ति जनाएका छन्। उक्त अडियोले सामाजिक सञ्जालमा चर्चा पाएको थियो।

यसबाहेक, पछिल्ला दिनमा सार्वजनिक भएका बाँकी दुई अडियो क्लिपले भने प्रहरी अधिकारीहरूको गम्भीर अनियमितता उजागर गरेका छन्। एक रेकर्डमा सर्लाहीको ब्रम्हपुरी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादव र त्रिभुवननगरकी एक महिला व्यवसायीबीचको संवाद छ।

व्यवसायीले भारतीय नाकाबाट चिनी र मटर ल्याउने अनुमति भएको बताउँदै सामान फिर्ता मागेकी छिन्। तर, यादवले अनुमति मिति नपुगी सामान बरामद गरिएको अवस्थामा कुनै ध्यान नदिएको र संवादलाई लापरवाहीपूर्वक सम्बोधन गरेको अडियोमा सुन्न सकिन्छ।

महिला व्यवसायीले श्रावण ४ गतेसम्मको लिखित अनुमति पाएकी थिइन् तर त्यसअगावै सामान नियन्त्रणमा लिइएपछि अडियो सार्वजनिक भएको हो। तेस्रो अडियोमा इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख प्रहरी नायब निरीक्षक वैद्यनाथ दास व्यवसायी राजीवलाई धम्क्याइरहेका छन्।

“३२ वटा बङ्गरा झारिदिन्छु” भन्दै उनले राजीवसँग सन्तोष पासवानलाई १८ हजार रुपैयाँ र आफूले बिहेमा किनेको कपडाको रकम ७ हजार दिनुपर्ने माग राखेका छन्। अडियो संवादको भाषाशैली र दबाब दिने तरिका स्पष्ट रूपमा गैरपेशागत देखिन्छ। यी ध्वनि रेकर्डहरू सार्वजनिक भएपछि प्रहरीले आफैं सीमा क्षेत्रमा तस्करीको संरक्षण गरिरहेको पुष्टि भएको जनस्तरमा धारणा बनिरहेको छ।

सर्लाहीमा खुला सिमाना तथा अस्थायी प्रहरी चौकीहरूकै आडमा तस्करीको सहजता देखिएको छ भने सोही कारण मधेश प्रदेशका भन्सारहरूले उठाउनुपर्ने राजस्व पनि प्रभावित भएको देखिन्छ। ध्वनि रेकर्डमा समेटिएका दुवै प्रहरी अधिकारी — मनोज यादव र वैद्यनाथ दास यसअघि पनि विवादित रहँदै आएका थिए। उनीहरू दुबै निलम्बनमा परिसकेका प्रहरी हुन्।

तिनले पुनः संवेदनशील क्षेत्रमा जिम्मेवारी पाएका बेला फेरि त्यस्तै प्रकृतिका गतिविधिमा संलग्न रहेको पुष्टि हुने संकेत देखिएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख योगेन्द्र खडकाले अडियो क्लिपहरू गम्भीर विषय भएको भन्दै आवश्यक छानबिन थालिएको जानकारी दिएका छन्।

तर, यस्ता घटनाले प्रहरी संगठनको विश्वसनीयता माथि गम्भीर प्रश्नचिन्ह खडा भएको भन्दै नागरिक स्तरमा असन्तोष बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार