लालबन्दीमा किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध

२०८२ श्रावण ४, आईतवार ११:२४

मलंगवा – सर्लाहीको लालबन्दीमा व्यापारीले तरकारी नकिनेपछि आक्रोशित किसानले आइतबार बिहानदेखि महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्। बिक्रीका लागि लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रमा ल्याइएको तरकारी थोक व्यापारीहरूले नकिनेपछि किसानहरू तरकारी बोकेरै सडकमा उत्रिएका हुन्।

उनीहरूले तरकारी सडकमा छरपस्ट पार्दै लालबन्दी बजार खण्डमा राजमार्ग बन्द गरेका छन्। कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार, नगरपालिकाले तरकारी निकासीमा कर लगाउन थालेपछि व्यापारीहरूले खरिद गर्न अस्वीकार गरेका हुन्।

“नगरपालिकाको करका कारण थोक व्यापारीहरूले तरकारी किन्न मानेनन्,” थपलियाले बताए, “बिक्री नहुँदा किसान निराश बनेका छन् र सडकमा उत्रिन बाध्य भए।” राजमार्ग अवरुद्ध भएपछि लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।

प्रहरी प्रशासनले वार्ता गरी राजमार्ग खुलाउने प्रयास जारी राखेको जनाएको छ। किसानहरू स्थानीय प्रशासन र नगरपालिकाको नीतिविरुद्ध आक्रोशित बनेका छन् र कर फिर्ता लिने माग राखिरहेका छन्। अवरुद्धका कारण यात्रुहरू र चालकहरू घण्टौंदेखि समस्यामा परेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार