सर्लाही — नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। एएफसी महिला एसियन कप छनोट प्रतियोगिता सम्पन्न भएपछि उनी नेपाल फर्कनुको सट्टा सिधै आफ्नो गृहदेश बेल्जियमतर्फ लागेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा बुझाएका हुन्। एन्फाले भने उक्त राजीनामा औपचारिक रूपमा स्वीकृत गर्ने प्रक्रिया बाँकी रहेको जनाएको छ।

वाइल्डले नेपाल छोड्नु अघि सञ्चारमाध्यमहरूसँग कुरा गर्दै एन्फामाथि गम्भीर आरोप लगाएका थिए। प्रशिक्षक वाइल्डका अनुसार संघले आवश्यक सहयोग नगरेको, व्यवस्थापन पूर्णरूपमा अस्तव्यस्त रहेको र सुधारप्रति कुनै गम्भीरता नदेखिएको आरोप थिए।
उनले यहाँको प्रणालीप्रति असन्तुष्टि जनाउँदै, “खेलाडीहरूले पेनाल्टी हान्नसम्म डराए, खेल अगाडि प्रधानमन्त्रीसँग भएको छलफलले थप मानसिक दबाब सिर्जना गर्यो,” भनेका थिए।
वाइल्डका यस्ता आरोपपछि उज्बेकिस्तान पुगेको टोलीका सदस्यहरू एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै उनले नै कप्तान चयन लगायतका विषयमा विवाद सिर्जना गरेको दाबी गरेका थिए।
बेल्जियमका नागरिक वाइल्डलाई एन्फाले जेठ २२ गते नेपाली महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। नियुक्तिको छोटो अवधिमै उत्पन्न विवाद र असमझदारीले राष्ट्रिय महिला टिमको भविष्यमाथि समेत प्रश्न उठाएको छ।





