मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा कांग्रेस –एमाले

२०८२ श्रावण ४, आईतवार १४:३५
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेस प्रदेश सरकारको नेतृत्वमा फेरबदलको संकेत देखिन थालेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले जनमत पार्टी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने तयारी गरि रहेका छन्। जनमत पार्टीका सतिश कुमार सिंहको मुख्यमन्त्री पदमा एक वर्ष पुगेको पृष्ठभूमिमा अब सरकारको नेतृत्व कांग्रेसले गर्ने तयारी गरिरहेको छ। तर, जनमत पार्टी सत्ता नछाड्ने अडानमा देखिएपछि प्रदेश राजनीतिमा असमझदारी चुलिएको छ।

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले सत्ता हस्तान्तरणबारे पहल भइरहेको बताएका छन्। उनका अनुसार जनमत पार्टीले आफू अनुकुल निर्णय नगरे समर्थन फिर्ता गर्ने विकल्प खुला रहन्छ। उनले भने, “जनमत पार्टीको एक वर्ष पूरा भइसक्यो, अब नेतृत्व परिवर्तन हुनु स्वाभाविक हो। यसबारे छलफल भइरहेकाले निर्णय केही समयपछि स्पष्ट हुन्छ।”

यसबीच, कांग्रेस र एमालेका प्रदेश नेताहरू राजधानी काठमाडौँमा पार्टी शीर्ष नेताहरूसँग छलफलमा जुटिरहेका छन्। सत्ता समीकरणको नयाँ सम्भाव्यतालाई लिएर केन्द्रस्तरमै सहमति जुटाउने प्रयास भइरहेको छ। तर, जनमत पार्टी भने सरकार छाड्ने पक्षमा नरहेको स्पष्ट संकेत दिएको छ। पार्टी संसदीय दलका नेता महेश यादवले कांग्रेस–एमालेको समर्थन फिर्ता चर्चा ‘राजनीतिक हल्ला’ मात्र भएको प्रतिक्रिया दिएका छन्।

उनले भने, “कांग्रेस र एमालेले आफै बनाएको हल्ला हो। सरकार छाड्ने कुनै तयारी छैन। सत्ता बाँडफाँटबारे कुनै सहमति भएको भए हामीलाई पनि जानकारी हुन्थ्यो।” महेश यादवले नेतृत्व हस्तान्तरणबारे कुनै औपचारिक सम्झौता नभएको दाबी गर्दै कांग्रेस र एमालेको एकतर्फी अभिव्यक्तिले गठबन्धनमै असहजता सिर्जना भएको आरोप लगाए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार