मलंगवा – यस वर्ष हालसम्म देशभर ७२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार साउन ४ गतेसम्म सातवटै प्रदेशको संयुक्त विवरणमा ७२ दशमलब १४ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो।
गत वर्ष सोही अवधिमा देशभर ८४ दशमलब ६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो। चालु वर्षको प्रगति दर सुस्त हुनुमा केही प्रदेशमा देखिएको वर्षा अभाव र सिँचाइ समस्यालाई प्रमुख कारण मानिएको छ। सबैभन्दा कम रोपाई मधेश प्रदेशमा देखिएको छ।

देशको मुख्य धान उत्पादन क्षेत्र मानिने मधेशमा हालसम्म जम्मा ४६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि विभागले जनाएको छ। विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा रोपाइँ भएको छ।
मधेशमा देखिएको रोपाइँ सुस्तताको प्रमुख कारण सिँचाइको अभाव र समयमै वर्षा नहुनु रहेको बताइएको छ। प्रदेशका अधिकांश क्षेत्रमा सिँचाइ सुविधाको पहुँच कम भएकोले किसानहरू वर्षाको भर पर्न बाध्य भएका छन्। मधेशपछि दोस्रो ठूलो धानखेती हुने लुम्बिनी प्रदेशमा भने २ लाख ६६ हजार ३ सय ६९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।
लुम्बिनीमा कुल खेतीयोग्य क्षेत्र ३ लाख २ हजार ९ सय ३९ हेक्टर रहेको छ। त्यस्तै कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये १ लाख ७० हजार ७ सय ९० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन ६१ दशमलब ७९ प्रतिशत हो। बाग्मती प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टरमा रोपाइँ सकिएको छ, जसले ८७ दशमलब १९ प्रतिशत प्रगति देखाउँछ।
गण्डकी प्रदेशको ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमध्ये ७४ हजार ६ सय ६४ हेक्टरमा, कर्णालीको ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५ हजार ९ सय ४८ हेक्टरमा र लुम्बिनीमा ८७ दशमलब ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ।
धान रोपाइँ सिजन सुरु भएको एक महिनासम्म मधेशमा रोपाइँदर अन्य प्रदेशहरूको तुलनामा निकै कम देखिएपछि कृषि क्षेत्रका सरोकारवालाहरूले त्यसलाई गम्भीर रूपमा लिएको बताएका छन्। देशभर रोपाइँको औसत दर ७२ प्रतिशत पुगिसक्दा पनि मुख्य धान भण्डारको रूपमा चिनिने मधेशमा रोपाइँ आधा पनि नपुगेको अवस्था छ।





