मलंगवा – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध दायर आपराधिक मुद्दाको विरोधमा मलंगवामा आइतबार जुलुससहित प्रदर्शन गरिएको छ। नेता यादवका सयौं समर्थक सदरमुकाम मलंगवामा लाठीसहित जुलुसमा उत्रिएका थिए।
प्रदर्शनकारीहरूले जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काको कारबाहीको माग गर्दै सडक तताए। “झुठो मुद्दा खारेज गर”, “एसपी खड्का हटाउनू पर्छ” जस्ता नारा लगाउँदै उनीहरूले प्रहरी प्रशासनविरुद्ध आक्रोश पोखेका थिए। प्रदर्शनकारीहरूले तत्काल माग सम्बोधन नभए आन्दोलन अझ सशक्त र चरणबद्ध हुने चेतावनी पनि दिएका छन्।

गत हप्ता मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा राति काम भइरहेको बेला अनियमितता भएको भन्ने आशंकामा नेता यादवले प्रश्न उठाएका थिए। यही विषयमा यादव र एसपी खड्काबीच कडा भनाभन र बिबाद भएको थियो। त्यसको केही दिनपछि प्रहरीले यादवलाई पक्राउ गर्न खोजे पनि स्थानीयवासीको अवरोधका कारण उनीहरू सफल हुन सकेनन्।
यस क्रममा यादवको घर पुगेको प्रहरी गस्ती गाडीमा तोडफोडसमेत भएको थियो भने प्रहरीले यादवका छोरामाथि कुटपिट समेत गरेको थियो। प्रहरीले यादवविरुद्ध “आपराधिक उपद्रव” अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पूर्जी जारी गराएको छ। तर यादव हालसम्म फरार छन्।
उक्त मुद्दा ‘राजनीतिक प्रतिशोधका लागि बनाइएको झुठो आरोप’ भएको भन्दै सर्लाहीका प्रमुख छ वटा राजनीतिक दलहरू जसपा, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा पूर्वाधार कार्यालयको कथित अनियमितता ढाकछोप गर्न एसपी खड्काले यादवलाई निशाना बनाएको आरोप लगाइएको छ। उनीहरूले न्यायिक छानबिनको माग गर्दै मुद्दा खारेज नभएसम्म संघर्ष जारी राख्ने अडान व्यक्त गरेका छन्।





