सर्लाही – सिरहा जिल्ला कारागारमा शनिबार दिउँसो कैदीबन्दीहरूबीच भएको आन्तरिक विवाद हिंसात्मक झडपमा परिणत हुँदा १३ जना घाइते भएका छन्। झडपको कारण आन्तरिक प्रशासनको नेतृत्व नाइके को हुने भन्ने विषयमा दुई समूहबीच मतभेद चर्किएर हो, सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिएका छन्।
“घाइते १३ जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ,” उनले भने, “स्थिति र सुरक्षाको संवेदनशीलता हेर्दै थप उपचारका लागि काठमाडौं रिफर गर्ने तयारी भइरहेको छ।” घटनापछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली कारागारमा खटिएको थियो।

हाल अवस्था नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ। सिरहा कारागारमा १५० जनाको क्षमतामात्र भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा झन्डै तीनगुणा बढी कैदी थुनिनु आन्तरिक व्यवस्थापनको चरम दबाब हो, जसले बारम्बार यस्ता समस्या उत्पन्न गराइरहेको देखिन्छ।
अझ गम्भीर त के भने, घटनाको अघिल्लो दिन मात्रै जिल्ला प्रशासनको नेतृत्वमा सुरक्षा निकायहरूको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो। अनुगमनका क्रममा “सबै ठिकठाक” रहेको बताइए पनि भोलिपल्टै झडप हुनुले व्यवस्थापनको प्रभावकारितामाथि शंका उत्पन्न भएको छ।
यसअघि पनि कारागारभित्र आपराधिक गतिविधिको आशंकामा छानबिन समिति गठन गरिएको थियो। डेढ महिनाअघि बुझाइएको सो प्रतिवेदन हालसम्म सार्वजनिक नगरिनुले प्रश्न झनै चर्किएको छ।





