किन गरिन्छ साउने सोमवारको व्रत ?

२०८२ श्रावण ५, सोमबार ०८:१८

मलंगवा – हिन्दू धर्मालम्बीहरूमाझ साउन महिनालाई विशेष श्रद्धा र भक्ति भावना साथ मनाइन्छ। विशेषगरी सोमवारका दिन भगवान शिवको उपासना गरी व्रत बस्ने परम्पराको धार्मिक, पौराणिक र स्वास्थ्यसम्बन्धी आधार रहिआएको छ। देवाधिदेव महादेवलाई अत्यन्त प्रिय मानिने साउन महिनाको आराधना विधिपूर्वक गरेमा इच्छित फल प्राप्त हुने विश्वास पाइन्छ।

साउन र शिवबीचको सम्बन्धलाई धार्मिक शास्त्रहरूले गहिरो रूपमा वर्णन गरेका छन्। हरिशयनी एकादशीमा भगवान विष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गरेपछि सृष्टिको दायित्व भगवान शिवले सम्हाल्ने विश्वास छ। यस्तै, सूर्य दक्षिणायनमा प्रवेश गर्ने समय पनि यही हो, जसका कारण ग्रहहरूको प्रभाव कमजोर हुने र रोगव्याधिको सम्भावना बढ्ने जनविश्वास रहेको छ। यस्ता कारणले पनि शिवको आराधना गरेर शरीर, मन र वातावरणलाई शुद्ध राख्ने मान्यता रहेको पाइन्छ।

साउनको सोमवार व्रतको धार्मिक महत्व शिवपुराणमा उल्लेख गरिएको छ। शुद्ध हृदयले व्रत बसेर शिवको पूजा गरेमा अन्य दिनको तुलनामा धेरै गुणा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। व्रत बस्ने विधिमा बिहान स्नान गरेर व्रतको संकल्प गर्नुपर्ने, गंगाजल, बेलपत्र, सुपारी, धतुरो, भाङ, फूल आदिले शिवलिंगको पूजा गर्नुपर्ने, व्रत कथा सुन्ने र मन्त्र जप गर्ने परम्परा रहेको छ। साँझ आरतीपछि मात्र भोजन गर्ने चलन छ, भने कोही दिनभर निराहार पनि बस्छन्।

व्रतको आरम्भ पाँच सोमवार परेको वर्षबाट गर्नुपर्ने भनिए पनि यस वर्ष भने चारवटा सोमवार मात्र परेका छन्। अन्तिम सोमवारमा गोदान तथा पूर्णपात्र अर्पण गर्दै व्रत समापन गरिन्छ, विशेष गरी विशेष कामना गरेका व्रतालुहरूले यस दिनलाई महत्त्वका साथ मनाउने गर्दछन्।

साउनको सोमवारका दिन केही प्रतिबन्धित कार्यहरू पनि धार्मिक दृष्टिकोणले उल्लेख छन्। यस दिन अनैतिक कार्य, गलत विचार र आचरण, मांस-मदिरा सेवन, ब्रह्मचर्यको उल्लंघन, रुखविरुवा काट्नेजस्ता कार्य अशुभ मानिन्छन्। हरियाली महिनाका रूपमा चिनिने साउन शिवलाई अत्यन्त प्रिय छ, जसले हरियाली संरक्षणतर्फ पनि धार्मिक सन्देश दिन्छ।

सोमवारको व्रत बस्नाले चन्द्र ग्रह सबल हुने र मानसिक शान्ति मिल्ने पौराणिक विश्वास पनि पाइन्छ। विशेषगरी अविवाहित युवतीहरूले मनोकामना पूर्तिका लागि यो व्रत गर्ने परम्परा कायम छ। शिवको नामस्मरणले पाप नाश हुने र शिवसायुज्य प्राप्त हुने धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ। शिवलाई आशुतोष छिट्टै प्रसन्न हुने देवता मानिन्छ, जसको कृपाबाट जीवनका संकटहरू हटेर सुख, समृद्धि र शान्ति प्राप्त हुने विश्वास पाइन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार