सर्लाही – जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको हत्या घटनामा संलग्न रहेको आशंकामा एक युवती पक्राउ परेकी छन्। मृतक महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय शनि भनिने विमलेश यादव हुन्।
शनिबार राति गेष्टहाउसको कोठामा उनको छुरा प्रहार गरी हत्या गरिएको र त्यसपछि एकतल्लाबाट तल खसालिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

यादवको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको थियो। धनुषा प्रहरीले सोमबार हत्या आरोपमा महोत्तरी बलवा नगरपालिका–७ की २४ वर्षीया जुली झालाई पक्राउ गरेको छ।
उनलाई मंगलबार सार्वजनिक गर्दै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनापछि युवती झा गेष्टहाउसबाट भागेको र त्यो दृश्य सीसीटिभी फुटेजमा कैद भएको प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
उनले मृतक यादव र झा शनिबार राति ९:५५ बजे गेष्टहाउसमा सँगै प्रवेश गरेको पनि अनुसन्धानबाट खुलेको बताए। हत्या हुनुको कारण र उनीहरूबीचको सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





