सर्लाही – धनुषाको मिथिला नगरपालिका–८ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको एक कक्षा कोठामा शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। ३४ वर्षीया मगर बाल विकास कक्षामा अध्यापन गर्दै आएकी थिइन्।
उनी गत साउन १ गते बिहान ४:४५ बजेतिर विद्यालयको कक्षा कोठामै मृत भेटिएको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनी जनकपुरधाम–९ का ५५ वर्षीय मिटरब्याजी राजकिशोर यादवसँग आर्थिक लेनदेनमा परेकी थिइन्।

प्रहरीले घटनास्थल नजिकै रहेको मृतकको स्कुटरको डिक्कीबाट सुसाइड नोट समेत फेला पारेको छ। त्यसकै आधारमा यादवलाई आत्महत्या दुरुत्साहन अभियोगमा साउन २ गते पक्राउ गरिएको हो।
प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शिक्षिका मगरले यादवसँग ३ लाख २० हजार ऋण लिएकी थिइन्। रकम फिर्ता गरिसकेपछि पनि यादवले खाली चेकमा ४५ लाख रुपैयाँ उल्लेख गरेर दबाब दिँदै आएका थिए।
“यादवले बारम्बार मानसिक तनाव, धम्की र सामाजिक बेइज्जतीको चेतावनी दिने गरेको अनुसन्धानबाट खुलेको छ,” डिएसपी सिंहले जानकारी दिए। उनको घरबाट प्रहरीले ९ थान तमसुक, २३ थान सक्कल जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकहरू समेत बरामद गरेको छ।
शिक्षिकाका परिवारका अनुसार यादवले असार ३२ गते घरमै पुगेर ऋण तिर्न दवाव दिएका थिए। चेक बाउन्स गराएर जेल हाल्ने धम्की समेत दिएका थिए। मृतकले ऋण लिएको कुरा परिवारका केही सदस्यले मात्र थाहा पाएको उनीहरूले बताएका छन्।





