नागरिकता सिफारिस लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार

२०८२ श्रावण ५, सोमबार १९:१४
सांकेतिक तस्बिर

सर्लाही – धनुषाको जनकपुर उपमहानगरपालिका-११ मा नागरिकता सिफारिसका लागि वडा कार्यालय पुगेकी १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा वडाध्यक्ष अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी वरुणबहादुर सिंहका अनुसार चौधरीलाई गत बिहीबार नियन्त्रणमा लिइएको हो।

किशोरीले वडाध्यक्षविरुद्ध बिहीबार नै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। उनले नागरिकता सिफारिसका लागि वडा कार्यालय पुग्दा वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गरेकी छन्।

कक्षा १२ को परीक्षा दिएर बसेकी किशोरी पहिलो पटक नागरिकता बनाउन मंगलबार आफ्नी आमासँग वडा कार्यालय पुगेकी थिइन्। उनका बुवा वैदेशिक रोजगारीका लागि विदेशमा छन्। परिवार पहिले जनकपुरको वडा नम्बर २५ मा बस्थे, तर हाल वडा नम्बर ११ मा बसाइँ सरेको छ।

पहिलो दिन बसाइँसराइको कागजात नभएका कारण उनीहरू फर्किनुपरेको थियो। किशोरीले बताएअनुसार, बुधबार वडा नम्बर २५ को कार्यालयमा कुराकानी गरेर फर्किएपछि उनकी आमाले वडाध्यक्ष चौधरीलाई जानकारी गराएकी थिइन्। चौधरीले बिहीबार बिहान कार्यालय आउन भनेका थिए।

बिहीबार बिहान किशोरी र उनकी आमा वडा कार्यालय पुगे। वडाध्यक्षले सचिवलाई बसाइँसराइको कागजात लिन पठाएर किशोरीलाई नागरिकता बनाउनका लागि आफूले भनेको मान्नुपर्ने बताए। किशोरी र उनकी आमाले कागजातको कुरा होला भन्ठानेर सहमति जनाए। तर, सचिवलाई कागजात लिन समय लाग्ने भन्दै वडाध्यक्षले उनीहरूलाई फर्काइदिए।

त्यही दिन अपराह्न वडाध्यक्षले किशोरीलाई फोन गरेर बसाइँसराइको कागजात आफ्नो घरमा ल्याइएको भन्दै लिन आउन भने। किशोरीको घरबाट वडाध्यक्षको घर १०-१५ मिनेटको दूरीमा छ। आमाले नजिकै भएकाले किशोरीलाई एक्लै पठाएकी थिइन्।

किशोरी वडाध्यक्षको घर पुग्दा त्यहाँ एकजना वृद्ध व्यक्ति थिए, जसलाई वडाध्यक्षले ‘सिडिओ’ भनेर चिनाए। उनले किशोरीलाई सिडिओको कुरा मान्नुपर्ने र त्यसो गरेमा नागरिकता बन्ने बताए। केही समयपछि ती वृद्ध व्यक्ति बाहिरिए। त्यसपछि वडाध्यक्षले कागजात मिलाउने बहानामा किशोरीलाई कोठामा बस्न लगाए र ढोका बन्द गरे। किशोरीले प्रश्न गर्दा उनले ‘सूचना लिक हुनसक्छ’ भन्दै जवाफ फर्काए।

त्यसपछि वडाध्यक्षले किशोरीको कागजात माग्ने बहानामा उनको शरीरका संवेदनशील अंगहरूमा हात राख्दै दुर्व्यवहार गर्न थाले। किशोरीले प्रतिकार गर्दा उनले सिफारिस नगरे नागरिकता नबन्ने र आफूले भनेको माने राम्रो भविष्य बनाइदिने भन्दै धम्की दिए। किशोरीले चिच्याउँदै धकेलेर भाग्न सफल भइन्।

घटनापछि किशोरीले तत्काल आफ्ना दाजु र आमालाई जानकारी दिइन्। उनका दाजुले वडाध्यक्षको घरमा गएर कुरा बुझ्ने सल्लाह दिए। किशोरी फेरि त्यहाँ पुग्दा वडाध्यक्षले पुनः त्यस्तै व्यवहार गर्न खोजे। किशोरीको चिच्याहट सुनेर उनका दाजुहरूले वडाध्यक्षलाई समातेर प्रहरीको जिम्मा लगाए।

प्रहरीले किशोरीको बयान लिएर वडाध्यक्षविरुद्ध बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालतबाट शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार