सर्लाही – सप्तरी प्रहरीले ठूलो मात्रामा अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका – ७ का ५३ वर्षीय नारायणबहादुर कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले साउन २ गते कार्कीको घरमा छापा मारेको थियो।

टहराजस्तो बनाइएको घरभित्र खोजतलास गर्दा लुकाइ राखिएका लागुऔषधहरू, मोबाइल फोन, नगद नेपाली तथा भारतीय रुपैयाँसहित अन्य सामग्रीहरू फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले कार्कीको घरबाट स्पास्मो प्रोक्सिभन प्लस ३८२ क्याप्सुल, निट्राजेपाम ट्याब्लेट १४९ थान, निट्राभेट–१० ट्याब्लेट १५४ थान, १३ थान मोबाइल फोन, नेपाली रुपैयाँ दुई लाख ५० हजार ५१०, भारतीय रुपैयाँ ६ हजार ३३० र गाँजाका ७९ वटा पुडिया (कुल तौल ३११ ग्राम) बरामद गरेको हो।
पक्राउ परेका कार्कीमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरेर थप प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्।





