सर्लाही – पूर्वमन्त्री हृदयेश त्रिपाठीले चुरे क्षेत्रको अवैज्ञानिक दोहनले तराई–मधेस मरुभूमिमा बदलिने खतरा बढ्दै गएको बताएका छन्। पञ्चायतकालदेखि सुरु भएको चुरे दोहन आजसम्म निरन्तर जारी छ र राज्यको संरक्षणको जिम्मेवारीमै रहेका निकायहरूकै मिलेमतोमा चुरे विनाश भइरहेको उनि बताउछन्।
“चुरे संरक्षणको जिम्मा लिएका निकाय नै दोहनमा संलग्न छन्,” त्रिपाठीले भने, “यदि यही गति रहे मधेसको हरियाली समाप्त भएर यो मरुभूमिमा परिणत हुनेछ।” त्रिपाठीले हाल संसदमा प्रस्तुत भएको भूमिसम्बन्धी विधेयकले चुरे दोहनलाई वैधानिकता दिने आशंका व्यक्त गर्दै त्यसविरुद्ध व्यापक चेतना र प्रतिरोधको आवश्यकता औंल्याए।

“विधेयक पारित भए चुरे दोहन संस्थागत हुनेछ, जुन मधेसका लागि विनाशको संकेत हो,” उनले भने। उनले चुरे क्षेत्रको दोहनले तराईको भूमिगत जलस्रोतमा प्रत्यक्ष असर पार्दै गएको भन्दै त्यसको प्रभाव कृषि, वातावरण र जनजीवनमा प्रत्यक्ष रूपमा देखिन थालेको बताए।
कृषि मन्त्रालयका अनुसार हालसम्म तराई क्षेत्रमा जम्मा ४६ प्रतिशतमा मात्र धान रोपाइँ भएको छ, जबकि गत वर्ष सोही अवधिसम्म ८१ प्रतिशत रोपाइँ भइसकेको थियो। यो गिरावटले चुरे विनाश र जलस्रोत सुक्दै गएको अवस्था प्रतिविम्बित गर्ने त्रिपाठीको ठम्याइ छ।
उनले सम्पूर्ण राजनीतिक दल, पत्रकार, नागरिक अगुवा र आमजनसमुदायलाई चुरे संरक्षणमा एकजुट भई समयमै पहल गर्न अपिल गरे। “अब पनि बेवास्ता गरियो भने मधेसको भविष्य सुक्खा, भोकमरी र विस्थापनतर्फ धकेलिनेछ,” त्रिपाठीको चेतावनी छ।





