नापी कार्यालय मलङ्गवामा ‘नेलिस’ प्रणाली सुरु

२०८२ श्रावण ६, मंगलवार १५:३७

मलंगवा – सर्लाहीको मलङ्गवामा रहेको नापी कार्यालयले भूमिसम्बन्धी सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै ‘नेपाल भूमि सूचना प्रणाली’ (नेलिस) प्रविधि प्रयोगमा ल्याएको छ। यससँगै अब नापी कार्यालयबाट प्रदान गरिने सेवा र विवरणहरू मन्त्रालय तथा विभागले सिधै सर्भरमार्फत् हेर्न सक्नेछन्।

नक्सा र श्रेस्ता लगायतका विवरणहरू अघिसम्म केवल कार्यालयमै सीमित हुने गरेका थिए। तर, नेलिस प्रणालीमा जोडिएपछि ती तथ्यांकहरू अब केन्द्रसँग पनि प्रत्यक्ष रूपमा बाँडिने व्यवस्था मिलाइएको छ। नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरका अनुसार, यसले पारदर्शिता र कार्यदक्षता दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

इन्टरनेटको पहुँच भएका सेवाग्राहीहरूका लागि ‘मेरो कित्ता’ प्रणालीमार्फत घरमै बसेर नक्सा, कित्ता विवरणलगायत सेवा लिन सकिने सुविधा समेत शुरु गरिएको मानन्धरले बताए।

‘नेपाल भूमि सूचना प्रणाली’ (नेलिस) प्रविधि के हो ?

नेपाल सरकारद्वारा विकसित ‘नेपाल भूमि सूचना प्रणाली’ (Nepal Land Information System – NELIS) एक डिजिटल प्रविधि हो, जसको मुख्य उद्देश्य भूमि प्रशासन सम्बन्धी सम्पूर्ण प्रक्रिया जस्तै जग्गा दर्ता, नामसारी, कित्ताकाट, नक्सा प्रिन्ट, धितो राख्ने वा फुकुवा गर्ने कार्यलाई पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउनु हो। यस प्रणालीले परम्परागत कागजी प्रकृयालाई प्रतिस्थापन गर्दै सम्पूर्ण अभिलेखलाई कम्प्युटर प्रणालीमा सुरक्षित राख्ने काम गर्छ।

नेलिस लागू भएसँगै नापी र मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू अनलाइन प्रणालीमार्फत सहजै निगरानी गर्न सकिने र सेवाग्राहीले आवेदन दिनेदेखि प्रमाणपुर्जा प्राप्त गर्नेसम्मको प्रक्रिया डिजिटल माध्यमबाट गर्न सक्ने सुविधा मिलेको छ। यसबाट सेवामा हुने ढिलासुस्ती, दोहोरो लेखाजोखा तथा मानवीय त्रुटि कम हुनुका साथै भ्रष्टाचारको सम्भावना घट्ने विश्वास लिइएको छ।

देशभरका नापी तथा मालपोत कार्यालयलाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यअनुसार ‘नेलिस’ क्रमशः विभिन्न स्थानमा लागू हुँदै गएको छ, जसमा हालसालै सर्लाहीको मलङ्गवा नापी कार्यालय पनि समावेश भएको छ। यो प्रणाली ‘डिजिटल नेपाल’ अवधारणाअन्तर्गत सरकारी सेवा प्रवाहलाई आधुनिक, उत्तरदायी र प्रभावकारी बनाउने दिशातर्फको महत्वपूर्ण पाइला मानिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार