सर्लाही – गर्भावस्थामा महिलाले भोग्ने शारीरिक परिवर्तन मात्र होइन, मानसिक असर पनि गम्भीर हुनसक्ने चिकित्सकहरू बताउँछन्। हर्मोनको असन्तुलन, सामाजिक अवस्था, पारिवारिक दबाब र स्वास्थ्यसम्बन्धी चिन्ताले गर्दा धेरै गर्भवती महिला तनाव, चिन्ता, डर, निराशा र डिप्रेसनजस्ता मानसिक समस्याबाट गुज्रिने गरेका छन्।
विशेषज्ञका अनुसार गर्भवती महिलामा सुरुमा पोस्टपार्टम ब्लुज, त्यसपछि पोस्टपार्टम डिप्रेसन र गम्भीर अवस्थामा पोस्टपार्टम साइकोसिस समेत देखिन सक्छ। यसको लक्षणमा अत्यधिक रुनु, चिडचिडाहट, एक्लोपन, काममा अरुचि, बच्चाप्रति वितृष्णा र आत्महत्याको सोचसमेत देखा पर्न सक्छ।

“गर्भवती महिला डेलिभरीको डर, बच्चाको स्वास्थ्य, आफ्नो शरीरको अवस्था, कार्यालय तथा घरको जिम्मेवारी र श्रीमान् विदेशमा भएको कारणले मानसिक तनावमा पर्न सक्छन्,” मनोचिकित्सकहरू बताउँछन्। केही अवस्थामा त स्तनपान गराउन नसक्दा वा सुत्केरीपछिको थकानले पनि मानसिक अवस्था झनै कमजोर हुने गरेको पाइन्छ।
चिकित्सकहरूका अनुसार यस्तो अवस्था गर्भावस्थाको सुरुका दुई–तीन महिनादेखि नै देखिन सक्छ। यो समस्याको समाधानका लागि पारिवारिक सहयोग, सकारात्मक वातावरण र नियमित चिकित्सकीय परामर्श आवश्यक हुन्छ।
यस्तो अवस्थामा के गर्न सकिन्छ ?
– मनमा लागेका कुरा नलुकाई खुलेर परिवारसँग वा चिकित्सकसँग भन्नु,
– तनाव हुने कुरा टाढा राख्नु र भावनात्मक समर्थन दिनु,
– सन्तुलित आहार, पर्याप्त पानी र नियमित योग वा ध्यान,
– सकारात्मक सोच विकास गर्नु र आत्मबल बढाउनु,
– नियमित गर्भजाँच गराउनु र मानसिक स्वास्थ्यको समेत ख्याल राख्नु।
गर्भावस्था एउटा संवेदनशील र सुन्दर समय हो। तर यो अवधिमा मानसिक स्वास्थ्यलाई बेवास्ता गर्दा सुत्केरी महिला र शिशु दुवैको जीवनमा असर पर्न सक्ने भएकाले समयमै सजग रहनु उपयुक्त हुन्छ।





