जनकपुर – बेलायतकी पूर्व सांसद केट निभेटनले आफ्ना पूर्व पति तथा पूर्व सांसद एन्ड्रयु ग्रिफिथ्सविरुद्ध विवाहपछि लगातार यौन दुर्व्यवहार, शारीरिक तथा मानसिक हिंसा गरेको गम्भीर आरोप लगाएकी छन्। बेलायती टेलिभिजन च्यानल आइटीभी १ ले निर्माण गरेको वृत्तचित्र ‘ब्रेकिङ द साइलेन्स: केटको स्टोरी’ मा उनले लामो समयसम्म झेल्नुपरेको घरेलु हिंसाबारे खुलेर बोलेकी हुन्।
वृत्तचित्रमा उनले ग्रिफिथ्सले उनी सुतिरहँदा पटक–पटक बलात्कार गरेको र प्रतिकार गर्दा झन् आक्रोशित भएर उनीमाथि हातपातसमेत गर्ने गरेको दाबी गरेकी छन्। उनले भनिन्, “म रोएर प्रतिकार गर्दा उनले मलाई ओछ्यानबाट लातले हानेर निकाल्थे र डर देखाउँथे कि म सांसद हुँ, कसैले तिमीलाई विश्वास गर्दैन।”

दुवैको विवाह सन् २०१३ मा भएको थियो भने २०१८ मा सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि केटले २०१९ मा बर्टन क्षेत्रबाट आम निर्वाचन जितेर सांसद बनेकी थिइन्। तर व्यक्तिगत जीवनमा उनले भोगेको हिंसा त्यति सजिलै सकिएको थिएन। उनले आफूसँगै आफ्नी दुई हप्ताकी छोरीसमेत श्रीमान्को दुर्व्यवहारको शिकार भएको बताइन्।
बेलायतको पारिवारिक अदालतले सन् २०२१ मा ग्रिफिथ्सद्वारा केटमाथि यौन तथा शारीरिक दुर्व्यवहार भएको पुष्टि गर्दै मानसिक उत्पीडनसमेत भएको ठहर गरेको थियो। यद्यपि, केटका अनुसार सम्बन्ध विच्छेदपछिसमेत पाँच वर्षसम्म उनी निरन्तर कानुनी रूपमा पीडित बनिरहनु परेको थियो।
वृत्तचित्रमा केटको भोगाइमार्फत बेलायतको पारिवारिक अदालत प्रणालीमाथि पनि प्रश्न उठाइएको छ। प्रत्येक वर्ष ३० हजारभन्दा बढी घरेलु हिंसाका मुद्दामा अदालतले धेरैजसो कमजोर वा ढिला निर्णय गर्दै पीडितलाई न्याय दिन नसकेको विषयसमेत यसमा उठाइएको छ।





