रामनगर – सर्लाहीको रामनगर गाउँपालिकाले पानीको अभावमा रोपाइँमा समस्या भोगिरहेका किसानहरूलाई लक्षित गर्दै एकादशी बाँध निर्माण गरेको छ।
पालिकास्थितस्थित छटौल, बैरिया, बहुअर्वा, खैर्वा र इनर्वा क्षेत्रका खेतमा जेनतेन रोपाइँ गरीए पनि पानीको अभावका कारण लगाइएको धान सुक्न थालेपछि गाउँपालिकाले नदीको धार मोडेर टटबन्ध निर्माण गरेको हो। गाउँपालिका अध्यक्ष राजाबाबु यादवको सक्रियतामा निर्माण गरिएको बाँधले तत्काल खेतमा पानी पुग्न थालेपछि कृषकहरू राहत महसुस गरिरहेका छन्।

बाँध बनेपछि नदीको पानी खेतसम्म पुग्न थालेको छ। कृषिमा निर्भर अधिकांश किसानहरू वर्षाको भरपर्दा जोखिमपूर्ण अवस्थाको सामना गर्नुपरेको थियो। अब भने बाँध बनेपछि पानीको व्यवस्थापन सहज भएको र सुक्न लागेको धानमा पुनः जीवन फिर्ता आएको किसानहरूले बताएका छन्।
कृषकहरूको पीडालाई बुझेर हामीले तुरुन्तै कदम चालेका हौँ। कृषिमा संकट आउँदा चुप लागेर बस्नु हुँदैन भन्ने सोचले यो कार्य सम्पन्न गराएका हौँ। आगामी दिनमा पनि किसानलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गर्दै जाने गाउँपालिका प्रमुख यादवले भने।





