मलंगवा – नेपाल कम्युनिस्ट आन्दोलनका प्रणेता तथा नेकपाका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस सर्लाहीमा पनि श्रद्धाका साथ मनाइएको छ। पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाही जिल्ला कमिटीको आयोजनामा लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडामा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य लक्ष्मण पौडेल प्रमुख अतिथि थिए।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठान अध्यक्ष उद्धव पाठकले गरे भने, कार्यक्रममा विविध क्रियाकलापमार्फत पुष्पलालको योगदानलाई स्मरण गरिएको थियो। पार्क परिसर सरसफाइ गरिएको र फलफूलका बिरुवाहरू रोपिएको जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए। वक्ताहरूले स्वर्गीय पुष्पलाल श्रेष्ठले देशमा सामाजिक रूपान्तरण, वर्गहीन समाज र प्रगतिशील राजनीतिका लागि खेलेको भूमिकालाई स्मरण गर्दै उनको सपना साकार पार्न सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा प्रतिष्ठानकी प्रदेश उपाध्यक्ष बेची लुंगेली, पार्टी अध्यक्ष लामा, वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा लगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा सामुदायिक वनमार्फत निर्माण गरिएको पार्कका पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य लिली घिसिङले दिएकी थिइन् भने सञ्चालन भरत कुमार कार्कीले गरेका थिए।





