इमानदार प्रहरीमाथि गुटबन्दीको हमला

२०८२ श्रावण ८, बिहीबार १३:०२

सर्लाही – सर्लाहीको ब्रम्हपुरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मनोज यादवविरुद्ध सुनियोजित तरिकाले गरिएको अडियो रेकर्डिङ काण्डमा नयाँ तथ्यहरू बाहिरिएका छन् । यादवमाथि लगाइएको आरोप कुनै स्वतःस्फूर्त घटना नभएर पूर्वयोजना अनुसारकै चरित्रहत्या प्रयास भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

स्रोतका अनुसार, अडियो रेकर्डिङमा संलग्न महिला लामो समयदेखि झोलेपोके तस्करीमा संलग्न रहेको र उनलाई प्रयोग गरेर अडियो रेकर्ड गरिएको खुलेको छ । प्रहरी स्रोतका अनुसार ती महिलाको नाम बविता महतो हो । उनी निकै पहिलेदेखि उक्त क्षेत्रमा झोलेपोके तस्करीमा संलग्न छन् र तस्करीमा निकै चालु रहेको बताइन्छ।

प्रहरीले सार्वजनिक अडियोबारे विश्लेषण गर्दै भनेको छ, “उक्त अडियोमा न कुनै बार्गेनिङ छ, न त पैसा मागिएको छ, न तस्करीसँग सम्बन्धित संवाद।” बरु यादवले “म पक्राउ परेका कुरामा केही गर्न सक्दिन, छानबिन गर्ने निकाय छुट्टै छ” भन्ने मात्र सुन्न सकिन्छ ।

प्रहरीको भनाइमा, सामान्य संवादलाई तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाउँदै व्यावसायिक छवि बनाएका इन्चार्ज यादवलाई बदनाम गर्ने प्रयास गरिएको हो । प्रहरीले आम जनताको फोन उठाउनै पर्छ र उनीहरूको जिज्ञासा वा प्रश्नको जवाफ दिनु प्रहरीको कर्तव्यभित्रै पर्छ ।

यो घटनालाई स्थानीय प्रहरी वृत्तमा मधेशी मूलका प्रहरीबीच आपसी बदला र गुटबन्दीको संकेत समेतका रूपमा हेरिएको छ । ब्रम्हपुरी चौकीको इन्चार्ज बनेका मनोज यादवविरुद्ध ठूला तस्कर र घुसखोर प्रहरीहरूको मिलेमतोमा हमला गरिएको प्रहरी स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अडियो बाहिरिएपछि यादवलाई बोलाएर सोधपुछ गरिसकेको जनाएको छ ।

सोधपुछ एवं स्पष्टीकरणपछि प्रहरीको निष्कर्ष स्पष्ट छ। “घटनाको वास्तविकता सामाजिक सञ्जालमा फैलिएको जस्तो होइन ।” प्रहरी प्रशासनले स्पष्ट रूपमा चेतावनी दिएको छ। सत्य तथ्य नबुझी अफवाह फैलाउने, सुनियोजित हमला गर्नेहरूमाथि कडा कानुनी कारबाही हुनेछ ।

असई मनोज यादवले पनि आफूविरुद्ध गरिएको “असत्य, गलत र नियतबस गरिएको आरोप” प्रति आपत्ति जनाउँदै कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाएका छन् । यद्यपि, प्रहरीको अनुसन्धानले मनोज यादवको कुनै गल्ती नभएको स्पष्ट पारे पनि उल्टै उनलाई कारबाही गरेर गणमा बुझाइएको बुझिएको छ ।

प्रहरीलाई कसैले फोन गरेर गुनासो गर्दा त्यो गुनासो सुन्नु र जवाफ दिनु प्रहरीको कर्तव्य हो । यही कर्तव्य निर्वाह गरेको कारण उनलाई सजाय दिनु अन्यायपूर्ण भएको प्रहरी वृत्तका स्रोतले जनाएका छन् । यो घटनाले साना दर्जाका प्रहरीहरूको मनोबल कमजोर भएको स्रोतको भनाइ छ ।

एक समाजसेवीले भनेका छन् “मनोज यादव जस्तो हिम्मतिलो र आटिलो प्रहरी प्रहरी संगठनमा कमै होलान् । तर, यिनै इमान्दार प्रहरीहरूलाई गलत तरिकाले फसाइने घटना हुनु नै नेपालको कानुनी व्यवस्थाको विडम्बना हो ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार