तराई–मधेशको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन

२०८२ श्रावण ८, बिहीबार १४:४२

सर्लाही – लगातार गहिरिँदै गएको तराई–मधेशको खानेपानी संकटलाई मध्यनजर गर्दै खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले तत्काल जनशक्ति परिचालन गरी राहत कार्य अघि बढाउन निर्देशन दिएका छन्।

सिंहदरबारमा आज बसेको उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा मन्त्री यादवले विशेषगरी बारा, पर्सा लगायत मधेशका आठ जिल्लामा देखिएको पानी अभाव तत्काल सम्बोधन गर्न सम्पूर्ण प्राविधिक जनशक्ति र स्रोत परिचालन गर्न मातहत निकायलाई निर्देशन दिएका हुन्।

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत हरेक जिल्लामा एक–एक टोली खटाउने निर्णय गरिएको छ। टोलीमा वरिष्ठ डिभिजनल इञ्जिनियरसहित प्राविधिक सहभागी हुनेछन्। ती टोलीहरूले स्थल निरीक्षण, प्राथमिकता निर्धारण र शीघ्र समाधानका प्रस्ताव तयार गर्नेछन्। साथै, जिल्ला प्रशासन, समन्वय समिति र स्थानीय तहसँग मिलेर काम गर्ने व्यवस्था मिलाइनेछ।

जलवायु परिवर्तनको असरले समस्या थप जटिल बनेको भन्दै मन्त्री यादवले अन्तरराष्ट्रिय दातृ निकाय, संघसंस्था र छिमेकी मुलुकसँग समन्वय गरी सहयोग जुटाउने निर्देशनसमेत दिए। संकटग्रस्त जिल्लाहरूमा ट्याङ्कर, बोरिङ र प्याकेज्ड पानी वितरणजस्ता राहत कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयमार्फत आवश्यक पहल गर्ने निर्णय पनि बैठकबाट भएको छ।

खानेपानी आपूर्तिको तत्काल व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि बजेटको लचिलो प्रयोग, जनचेतनामूलक कार्यक्रम सञ्चालन, र सहकार्य विस्तार गर्ने योजनाहरू पनि अघि सारिएको सचिव प्रमिला देवी शाक्य बज्राचार्यले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार