मलंगवा – सर्लाहीको मलङ्गवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले सो अवधिमा जम्मा ९१.४३ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षमा ५८ करोड ७६ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर कार्यालयले ५३ करोड ७३ लाख १७ हजार ९७६ रूपैयाँ २ पैसा मात्र संकलन गर्न सकेको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए।

यद्यपि अघिल्लो दुई आर्थिक वर्षको तुलनामा प्रगति देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिशत र २०७९/८० मा ५२.९८ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। आचार्यका अनुसार यो वर्ष तुलनात्मक रूपमा संकलनमा सुधार देखिए पनि लक्ष्य भने पुरा हुन सकेन।
भन्सार कार्यालयका अनुसार बजेट वक्तव्यमा अग्रिम आयकर खारेज गरेपछि भारतबाट अग्रिम आयकर लाग्ने वस्तुको आयातमा कमी आएको छ। यसले पनि लक्ष्य अनुसार राजस्व उठ्न नसकेको कार्यालयको निष्कर्ष छ।
यसबाहेक, भारतसँगको खुला सीमाका कारण हुने तस्करीले समेत राजस्व सङ्कलनमा बाधा पुर्याउने गरेको बताइएको छ। भन्सार कार्यालय सर्लाहीका कर्मचारीहरूका अनुसार सीमावर्ती क्षेत्रमा नियन्त्रण कमजोर हुँदा खाद्यान्नलगायतका सामग्री चोरी पैठारी हुने गर्छन्।
प्रमुख भन्सार अधिकृत आचार्यका अनुसार कार्यालयले मुख्यतः भारतबाट आउने धान, आलु र प्याजबाट बढी राजस्व संकलन गर्ने गरेको छ। मलङ्गवा नाकाबाट खाद्यान्न लगायतका सामग्रीको ठूलो परिमाणमा आयात हुने भए पनि नेपालबाट भारततर्फ थोरै मात्रामा प्लाइवुड र केही अन्य सामग्री मात्रै निर्यात हुने गरेको छ।





