मलंगवा – भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको ठूलो परिमाणमा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले विशेष सूचनाको आधारमा छापा हानी १ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको सिगरेट र रेडिमेड कपडा बरामद गरेको हो।
ईश्वरपुर नगरपालिका–२ स्थित तुलसी पशुपालन फार्ममा लुकाइराखिएको ती सामानहरू सशस्त्र प्रहरी, भन्सार कार्यालय तथा इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए।

प्रहरीका अनुसार ८ लाख थान सिगरेट, १२२५ थान साडी, ९०२ थान कुर्था सुरुवाल, र १३३० मिटर थानको कपडा बरामद गरिएको छ। ती सबै सामग्री चोरी तस्करी गरेर ल्याइएको आशंका गरिएको छ। बरामद सामग्रीहरू आवश्यक प्रक्रिया पूरा गरी सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





