तराई–मधेशमा फैलिएको खडेरी संकटबारे बलराका नगर प्रमुख कुशवाहाको प्रधानमन्त्रीलाई खुला पत्र

२०८२ श्रावण १०, शनिबार १३:५३

सर्लाही – देशको तराई–मधेश क्षेत्रमा फैलिएको भीषण खडेरी संकटलाई लिएर बलरा नगरपालिकाका नगरप्रमुख रामशंकर प्रसाद कुशवाहाले सम्मानीय प्रधानमन्त्री केपी शर्मा वलीलाई सम्वोधन गर्दै एक भावुक र गम्भीर खुला पत्र सार्वजनिक गरेका छन्।

पत्रमा नगरप्रमुख कुशवाहाले उल्लेख गरेअनुसार साउन महिनाको मध्यसमेत भइसक्दासम्म वर्षा नभएकाले ट्युबवेल, इनार, कुआँहरू सुक्न थालेका छन्, खेतबारी बन्जर बनेका छन् र स्थानीय जनता पिउने पानीको अभावमा छटपटिन थालेका छन्। उनले यस संकटलाई ‘सामान्य मौसमी असहजता’ नभइ ‘प्राकृतिक आपत्’ अर्थात् ‘सुख्खा विपत्ति’ को संज्ञा दिएका छन्।

उनले तराई–मधेशको वर्तमान अवस्था इतिहासमै एक जटिल प्राकृतिक संकट भएको उल्लेख गर्दै लेखेका छन्, ‘मधेशमा शीतलहर आउँदा मरिन्छ, बाढी आउँदा बगिन्छ, र अहिले वर्षा नआउँदा सुकिन्छ।’ खडेरीले जनस्वास्थ्यमा समेत गम्भीर असर पार्न थालेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

खुलेर सरकारको उदासिनता प्रती गुनासो पोख्दै नगरप्रमुखले लेखेका छन्, ‘दुर्भाग्यवश यहाँ पानी अब अधिकार होइन, भाग्य बन्न पुगेको छ।’ यद्यपि संघीय र प्रदेश सरकारले केही औपचारिक घोषणा गरेका भए पनि, व्यवहारिक कदम अझै नचालिएकोप्रति उनी चिन्तित देखिन्छन्।

पत्रमा उनले संघीय र प्रदेश सरकारसँग पाँच बुँदे माग प्रस्तुत गरेका छन्। सुख्खा प्रभावित क्षेत्रमा राहत घोषणा, निःशुल्क पानी वितरण केन्द्रको स्थापना, विपन्न परिवारलाई लक्षित राहत कोषको निर्माण, वैकल्पिक जल स्रोत तथा सिंचाइ व्यवस्थाको आपातकालीन आपूर्ति र स्वास्थ्य जोखिम न्यूनीकरणका लागि मोबाइल स्वास्थ्य टोलीको परिचालन।

नगरप्रमुख कुशवाहाले पत्रको अन्त्यमा प्रधानमन्त्रीलाई स्मरण गराएका छन, यो खुला पत्र कुनै व्यक्तिगत गुनासो होइन, जनताको आवाज हो। उनले सरकारको सामाजिक न्याय, समावेशिता र संवेदनशील नेतृत्वप्रति विश्वास व्यक्त गर्दै अबको अपेक्षा व्यवहारिक कदममा केन्द्रित भएको प्रस्ट पारेका छन्।

‘तराई सुख्खिएको छ, सरकार! घोषणा मात्र होइन, अब यहाँ पानी र राहत चाहिएको छ,’ भन्दै उनले आफ्नो पत्र समापन गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार