खाडी मुलुक यूएईमा एक वर्षमा ३१२ नेपालीको मृत्यु

२०८२ श्रावण ११, आईतवार १२:४७

सर्लाही – युनाइटेड अरब इमिरेट्स (यूएई) मा रोजगारीका सिलसिलामा गएका नेपाली कामदारको मृत्यु दर दिनप्रतिदिन बढिरहेको छ। अबुधाबीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३१२ जना नेपालीले यूएईमा ज्यान गुमाएका छन्।

दूतावासका अनुसार यो औसतमा हरेक महिना झण्डै २६ जना नेपालीको मृत्यु भएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २३१ जना नेपालीको मृत्यु भएको थियो, जसको मासिक औसत करिब १९ जना थियो।

मृतकको संख्या महिनावार हेर्दा ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, वैशाखमा ३५, जेठमा २० र असारमा ३१ जनाले ज्यान गुमाएका छन्।

यूएईमा नेपाली कामदारको मृत्युका प्रमुख कारणमा सडक दुर्घटना, कार्यस्थलमा भएको दुर्घटना, हृदयघात तथा मुटुसम्बन्धी रोगहरू रहेका छन्। सामान्य रूपमा वैदेशिक रोजगारीले घरको आर्थिक अवस्था सुधार्ने विश्वास गरिए पनि पछिल्लो समय यूएईलगायत खाडी राष्ट्रमा कामदारको मृत्यु दरले गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार