सुख्खाग्रस्त मधेसमा प्रदेश सरकारद्वारा डिपबोरिङ जडान सुरु

२०८२ श्रावण ११, आईतवार १६:५७

सर्लाही – लामो समयदेखि पानी नपरी सुख्खाग्रस्त बनेको मधेस प्रदेशमा सिँचाइ र खानेपानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारले डिपबोरिङ जडानको अभियान सुरु गरेको छ। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको अगुवाइमा प्रदेशका प्रत्येक वडामा कम्तीमा एउटा डिपबोरिङ जडान गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको छ।

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवका अनुसार, आवश्यकता र प्राथमिकताको आधारमा डिपबोरिङ विस्तार गर्दै लैजाने रणनीति तय गरिएको छ। खानेपानीको अभाव तीव्र भइरहेकाले सिँचाइभन्दा खानेपानीलाई प्राथमिकता दिइएको उनले बताए।

“सीमित स्रोतसाधन हुँदाहुँदै पनि समस्या बोकेका वडामा प्राथमिकता दिँदै काम अघि बढाएका छौं,” मन्त्री यादवले भने। उनका अनुसार धेरै स्थानबाट मन्त्रालयमा खानेपानीको अभावका गुनासो आएपछि योजना कार्यान्वयनमा ल्याइएको हो।

मधेस प्रदेश सरकारले हालै यस क्षेत्रलाई सुख्खाग्रस्त घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ मानेको छ। यस्तै, प्रदेश सरकारले अभावग्रस्त क्षेत्रमा दमकल र ट्याङ्करबाट निःशुल्क पानी वितरण गरिरहेको छ।

डिपबोरिङ जडानको पहिलो चरण धनुषाको मिथिलाविहारी नगरपालिका–२ स्थित परशुराम तालमा सुरु भइसकेको छ। यो कार्य भूमिगत सिँचाइ कार्यालय जलेश्वर, लहान, कर्मेया (सर्लाही) र वीरगञ्जबाट सम्पन्न गरिनेछ। यी कार्यालयले प्रदेशका आठ जिल्लामध्ये दुई–दुई जिल्लामा डिपबोरिङ निर्माणको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, सङ्घीय सरकार अन्तर्गतको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले पनि गत आर्थिक वर्षदेखि डिपबोरिङ जडान गर्दै आएको छ। कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार, सिरहा र धनुषा जिल्लामा गरिएका डिपबोरिङले केही हदसम्म सिँचाइ र खानेपानीको समस्या कम गर्न सहयोग गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार