सर्लाही – यस वर्ष हालसम्म देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याङ्कले रोपाइँ कार्य सन्तोषजनक गतिमा अघि बढिरहेको देखिएको छ।
प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि देखिएको छ, जहाँ ९८.९४ प्रतिशत क्षेत्रमा धान रोपिएको छ। यसैगरी लुम्बिनीमा ९२.०४ प्रतिशत, कर्णालीमा ९१.३८ प्रतिशत, बागमतीमा ८७.१९ प्रतिशत र कोशी प्रदेशमा ८०.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको छ।

तर, गण्डकी र मधेश प्रदेशमा भने अपेक्षाकृत कम प्रगति देखिएको छ। गण्डकीमा मात्र ८.५३ प्रतिशत र मधेशमा ५१.८२ प्रतिशत भूभागमा मात्र रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। विशेषतः मधेश प्रदेशमा वर्षा नपरेकाले रोपाइँको गति ढिलो भएको बताइएको छ।
पछिल्लो वर्षको यही मितिसम्म कुल ९२.६ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको थियो। तर, यसपटक केही क्षेत्रहरूमा पानी अभावका कारण गत वर्षको तुलनामा रोपाइँको गति केही सुस्त रहेको मन्त्रालयको भनाइ छ।





