सर्लाही – जनकपुरधाम उपमहानगरपालिका–४ मा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। २३ वर्षीया शोभा मण्डलको शव सोमबार राति घरभित्रै भेटिएको हो। उनी चन्दन मण्डलकी पत्नी हुन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति करिब १२:३० बजे शोभाले आत्महत्या गरेको जानकारी प्राप्त भएको थियो।
तर प्रहरी टोली घटनास्थलमा पुग्दा शव ओछ्यानमा राखिएको अवस्थामा भेटिएको थियो। घरका सदस्यहरूले शोभालाई पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि डोरी काटी ओछ्यानमा राखेको दाबी गरेका छन्। यद्यपि, घटनाको वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। हाल घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।

त्यसैबीच, मृतकको माइती पक्षले भने घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लगाएका छन्। उनीहरूले शोभामाथि विगतदेखि नै दाइजोको विषयमा तनाव र घरायसी हिंसा हुँदै आएको बताएका छन्। शोभाको विवाह पाँच वर्षअघि चन्दन मण्डलसँग भएको थियो। उनीहरूकी एक छोरी पनि छन्। शोभाको माइती घर महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४, माइस्थानमा पर्छ।





