मिथिलामा झुला पर्व सुरु, मठमन्दिरमा भक्ति र उल्लासको माहोल

२०८२ श्रावण १२, सोमबार १५:२३

सर्लाही – साउन महिनाको सुरिलो संगीतसँगै मिथिलाञ्चलमा यति बेला झुला पर्वको रौनक फैलिएको छ। साउन शुक्ल तृतीयाबाट प्रारम्भ भई पूर्णिमासम्म चल्ने यो धार्मिक उत्सव आइतबार साँझदेखि विधिवत् रुपमा सुरु भएको हो। विष्णु र लक्ष्मीको आराधनामा केन्द्रित यो पर्व मिथिलाको विशेष सांस्कृतिक सम्पदा हो, जुन व्यक्तिगत रूपमा होइन, सामूहिक रूपमा मठमन्दिरहरूमा मनाइन्छ।

राम सीता र राधा–कृष्णलाई विष्णु र लक्ष्मीका अवतार मानिँदै उनीहरूका प्रतिमाहरूलाई विशेष झुलामा राखी श्रद्धासाथ झुलाइन्छ। यिनै झुला (कलात्मक पिङ)मा राखिएका प्रतिमालाई भक्तजनहरूले गीत गाउँदै र डोरी तानी झुलाउँदै भक्ति भावनामा रमाउँछन्। महोत्तरीको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मन्दिरबाट डोलीमा प्रतिमाहरू झुलाघरसम्म ल्याएर बाजागाजासहित पर्वको शुभारम्भ गरिएको हो।

यहाँ विशेष झुलाघर निर्माण गरिएको छ, जहाँ भारत र नेपालका दर्जनौं मठमन्दिरका मूर्तिहरू भेला भएका छन्। दिनभरिको भजन, कीर्तन, नाचगान र झुला गीतले क्षेत्रलाई भक्तिपूरित बनाउँछ। मिथिलाको लोकधुनमा आधारित झुला, मलार, र कजरी गीतहरू यस पर्वको विशेषता हुन्। जनकपुरस्थित जानकी मन्दिर र मटिहानीको लक्ष्मीनारायण मठ यस पर्वको केन्द्रविन्दु मानिन्छन्, जहाँ श्रद्धालुको उल्लेखनीय भीड लाग्दछ।

धार्मिक विश्वासअनुसार, यो पर्व अवधको अयोध्या र वृन्दावनमा प्रचलित झुलनोत्सवको प्रभावमा मिथिलामा भित्रिएको हो। जनकपुरधाम सीताको माइती भएकाले मैथिल परम्पराअनुसार ज्वाइँ रामप्रति श्रद्धा प्रकट गर्न यो पर्व प्रारम्भ गरिएको बताइन्छ। लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार, वि.सं. १७८७ तिर सन्त सुरकिशोर दासले यस पर्वलाई जनकपुरमा औपचारिक रूपमा सुरु गराएका थिए।

यो पर्वसँग जनकपुरको ऐतिहासिक स्थल ‘मणिपर्वत’ पनि जोडिएको छ। जनकले रामलाई दाइजोमा दिएको बहुमूल्य रत्नहरूले बनेको भनिएको यो स्थानमा पनि झुला पर्वको प्रारम्भिक पूजा गरिन्छ।

पर्वको समापन साउन पूर्णिमाका दिन गरिन्छ, जब विष्णुलक्ष्मीका झुलनाका डोरीहरू विधिपूर्वक काटिन्छन्। मिथिला संस्कृतिका अध्येता ध्रुव रायका अनुसार, झुला पर्व मिथिलाको मौलिक धार्मिक र सांस्कृतिक आत्माको जीवित प्रतीक हो, जसले जनसमुदायलाई आस्था र एकताको डोरीमा बाँध्ने काम गर्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार