सर्लाही – रोजगारी खोज्ने व्यक्तिहरू र रोजगारदाता संस्थाहरूमाझ सिधा सम्बन्ध स्थापित गराउने उद्देश्यले ‘श्रम संसार नागरिक एप’ सार्वजनिक गरिएको छ। अबदेखि नागरिक एप प्रयोगकर्ताले नै रोजगारीका अवसरहरू हेर्न, आफ्नो योग्यता अनुसार रोजगारी खोज्न तथा आवश्यक कागजातसहित सोही एपमार्फत आवेदन गर्न सक्नेछन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो प्रणालीलाई नागरिक एपसँग एकीकृत गरी सेवा प्रवाहलाई सरल, पारदर्शी र सहज बनाउने विश्वास लिएको छ। सोमबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा एप सार्वजनिक गर्दै मन्त्री शरतसिंह भण्डारीले अबको १० वर्षभित्र नेपाली युवालाई बाध्यात्मक वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गरिने प्रतिबद्धता जनाए।

मन्त्री भण्डारीका अनुसार, दक्ष जनशक्तिलाई श्रम बजारसँग जोड्दै आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवद्र्धन दशक’को रूपमा अघि बढाइनेछ। उनले नेपालमै रोजगारी सिर्जना गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्ने दिशामा सरकार गम्भीरतापूर्वक लागिपरेको बताए।
साथै, उनले नेपालको श्रम बजारसम्बन्धी यथार्थ विश्लेषणात्मक सूचनाको अभावकै कारण धेरै नागरिक विदेशिनुपरेको उल्लेख गर्दै, सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनु अपरिहार्य भएको औँल्याए। मन्त्री भण्डारीले सरकार डिजिटल नेपाल अभियान अन्तर्गत प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिँदै आएको र सोही क्रममा यो एप एक महत्वपूर्ण उपलब्धिका रूपमा आएको धारणा राखे।





