नागको पूजाआराधना गरी नागपञ्चमी पर्व मनाइँदै

२०८२ श्रावण १३, मंगलवार ०७:४२

सर्लाही – आज श्रावण शुक्ल पञ्चमी, नागपञ्चमीको अवसरमा देशभर नागको पूजा गरी यो पर्व श्रद्धापूर्वक मनाइँदैछ।

परम्पराअनुसार घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गरिन्छ। धार्मिक विश्वास अनुसार यसरी पूजा गर्दा घरमा नाग, सर्प, बिच्छी जस्ता विषालु जीवले दुःख नदिने र आगो, चट्याङ, तथा बादलको भीषण असरबाट समेत जोगिन सकिने मान्यता छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, “नाग पूजाको परम्परा वैदिक युगदेखि चलिआएको हो। नागलाई सर्पहरूको राजा मानिन्छ। यदि नाग रिसाए भने वर्षा कम हुने, पानीको अभाव हुने मानिन्छ। त्यसैले पनि नागलाई खुसी पार्न पूजा गर्ने चलन बसेको हो।”

बराहपुराणमा उल्लेख भएअनुसार, श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको संवाद भएको थियो, त्यसैले पनि यो दिन विशेष मानिएको हो। डा. भट्टराईका अनुसार हरेक घरको जगमुनि नाग वास गर्ने धार्मिक मान्यता रहेको छ। यदि नाग रिसाए भने घरको जग नै कमजोर हुने विश्वासका कारण पनि यो पूजा महत्वपूर्ण मानिएको हो।

शिव र विष्णुजस्ता देवता पनि नागसँग जोडिएका छन्। भगवान् शिवले नागको माला लगाउने गरेका छन् भने विष्णु जलमाथि शेषनागको शैयामा विश्राम गर्ने मान्यता छ। त्यसैले, वैदिक सनातन परम्पराबाट नै नागलाई देवी–देवतासँग जोडेर पूजा गर्ने परिपाटी चलिआएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार