बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज उर्फ राजेश झाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ।
४ साउनमा पक्राउ परेका झालाई प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो। यद्यपि, मुलुकी फौजदारी अपराध संहिता अनुसार बलात्कार मुद्दामा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने प्रावधान छ, अहिराजको हकमा भने ९ दिनमै मुद्दा अदालतमा पुगेको छ।

पीडित युवतीका अनुसार २०८१ जेठ ४ गते नयाँ बानेश्वरस्थित डेरामा आफू एक्लै भएको बेला पहिलेदेखि चिनजान रहेका अहिराजले बलात्कार गरेका थिए। ती युवतीको उजुरीका आधारमा प्रहरीले अहिराजलाई नियन्त्रणमा लिएको थियो।
उनीमाथि संहिता २०७४ को दफा २१९ (२)(ङ) अनुसार मुद्दा दायर गरिएको छ। उक्त उपदफाले १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलामाथि बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ।
यसअघि पनि समान प्रकृतिका मुद्दामा प्रहरी अनुसन्धानको समयसीमा पूरा गरेर मात्र मुद्दा अघि बढाउने गरिए पनि, अहिराजको मुद्दामा भने छिटो प्रक्रिया अघि बढाइएको छ।
पीडित युवतीको बयान
पीडित युवतीले आफूमाथि एक्लै भएको मौकामा अहिराजले बलात्कार गरेको बताएकी छिन् । नजिकका नातेदारबाट अहिराजसँग चिनजान भएको भनाइ छ । चिनजान भएकाले अहिराज आफ्नो घरमा बेला–बेला आउने गरेको पनि उनले बयानका क्रममा भनेकी छिन् । त्यतिबेलादेखि नै उनी आफूसँग नजिक हुन खोजेको पीडित युवतीले बताएकी छिन् । विराटनगर बस्ने ती युवती केही समयपछि अध्ययनका लागि काठमाडौं आएकी थिइन् ।
बानेश्वरमा उनी डेरा गरेर बस्दै आएकी थिइन् । आफ्नै कोठामा आएर अहिराजले बलात्कार गरेको उनले बताएकी छिन् । ‘म काठमाडौं आएको थाहा पाएपछि बानेश्वरस्थित मेरो डेरागरी बसेको कोठामा पनि आउने जाने गर्न थाल्नु भयो । मेरो बुवा आमा घरपरिवारका सम्पूर्ण सदस्यसँग उनको राम्रो चिनजानी भएको फाइदा उठाई कुनियत राखी ४ जेठ २०८१ गतेका दिन ममाथि बलात्कार भयो,’ पीडित युवतीको भनाइ छ ।
कोठामा एक्लै बसेका बेला ‘जरुरी कुरा गर्नुछ, तपाईंको परिवारबाट सन्देश ल्याएको छु’ भन्दै अहिराज ती युवतीको कोठामा गएको अनुसन्धानका क्रममा पाइएको छ । ‘के सन्देश ल्याएको फोनमा नै भनेको भए हुन्थ्यो । म एक्लै भएको ठाउँमा किन आउनु भएको भनी मैँले भनिरहँदा, उहाँले तिमी किन डराएको तिम्रो घरपरिवारसँग चिनजान भएको हुनाले निर्धक्क भएर बस भन्नु भयो,’ पीडित युवतीको बयान छ ।
पानी दिए लगत्तै कोठाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार भएको पीडित युवतीले बताएकी छिन् । ‘मैले किन चुकुल लगाउनु भएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई विस्तारामा पछार्नु भयो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु,’ युवतीले बताएकी छिन् ।
मार्ने धम्की दिँदै आफ्नो अस्मिता लुटेको युवतीको भनाइ छ । ‘तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन् । तलाईं कसले मार्यो, कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुने कै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो,’ युवतीले प्रहरीसमक्ष भनेकी छिन्, ‘लगातार करणी पश्चात मेरो संवेदनशील अंगबाट रगत बगिरहेको थियो । अब छोडिदिनुहोस् भनि पटक–पटक बिन्ती गर्दै उम्किने प्रयास गर्दा समेत जबर्जस्ती करणी गरिरहे ।’
बलात्कारपछि कुरा बाहिर ल्याएर उल्टै मधेशी समुदायले बहिष्कार गर्ने धम्की दिएको पनि युवतीले बताएकी छिन् । ‘यो कुरा बाहिर ल्याएमा तँ र तेरो परिवार कहि कतै मुख देखाउन लायक हुने छैन । बाध्यबस स–परिवार नै आत्महत्या गर्ने अवस्थामा पुग्छौ,’ युवतीले आफ्नो जाहेरीमा भनेकी छिन्, ‘तर पनि कसैलाई भनिस् भने कि तँलाई मार्दिन्छु, कि तेरो भाइलाई अपहरण गरी मारिदिन्छु भनी आफ्नो वस्त्र लगाएर कोठाबाट निस्किनु भयो ।’





