रूसको सुदूर पूर्वी भाग, कामचटका प्रायद्वीप नजिक सोमबार एक शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) अनुसार, समुद्र सतहदेखि ७४ किलोमिटर गहिराइमा आएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ८.८ मापन गरिएको छ। यस भूकम्पले केवल रूस मात्र नभई जापान, गुआम, हवाई, अलास्का तथा अमेरिका लगायतका प्रशान्त क्षेत्रलाई उच्च सतर्क अवस्थामा पुर्याएको छ।
भूकम्पको केन्द्रबिन्दु कामचटका प्रान्तको प्रशासनिक केन्द्र पेट्रोपाभ्लोभस्क-कामचट्स्कीबाट करिब १३३ किलोमिटर दक्षिणपूर्वमा पर्छ। जापानी टेलिभिजन NHK का अनुसार, उक्त स्थान जापानको उत्तरी टापु होक्काइडोबाट करिब २५० किलोमिटरको दूरीमा अवस्थित छ।

भूकम्पपछि अमेरिकी र जापानी अधिकारीहरूले सम्भावित सुनामीको चेतावनी जारी गरेका छन्। प्रशान्त सुनामी चेतावनी केन्द्रले समुद्र सतह १ देखि ३ मिटर उचाइमा उठ्न सक्ने सम्भावना औँल्याएको छ। यससँगै रूस, जापान, गुआम, हवाई, अलास्का, क्यालिफोर्निया, ओरेगन र वाशिंगटन राज्यका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन निर्देशन दिइएको छ।
अलास्काको अलेउटियन टापुहरूका केही भागमा सीधा सुनामी चेतावनी जारी गरिएको छ। त्यहाँका नागरिकहरूलाई समुद्र किनार छाडेर सुरक्षित स्थानमा जान भनिएको छ।
रूसी समाचार संस्था ‘तास’ले प्रारम्भिक विवरणमा कामचटका क्षेत्रमा केही मानिस घाइते भएको जनाएको छ। भूकम्पपछि उद्धार टोलीहरू सक्रिय छन् भने नागरिकहरूलाई अफवाह नफैलाउन र आधिकारिक जानकारीमा भर पर्न आग्रह गरिएको छ।





