मलंगवा – मधेश प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र, सर्लाहीले सुख्खा र खडेरी प्रभावित क्षेत्रलाई राहत दिन भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ल्याइएको यो योजनाका लागि केन्द्रले साउन १३ गते सूचना जारी गर्दै इच्छुक कृषकहरूलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

‘सुख्खा एवम् खडेरीबाट तत्काल राहतका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८२’ बमोजिम अघि बढाइने यस योजनाका लागि निवेदन साउन १९ गतेभित्र कार्यालय समयमा बुझाउनुपर्नेछ।
आवेदन दिन चाहने कृषकले रु. १० को हुलाक टिकट टाँसिएको आवेदन फारम (अनुसूची–२), नागरिकता प्रमाणपत्र, कम्तीमा २ बिघा जग्गाको पुर्जाको प्रतिलिपि, स्थानीय तहको सिफारिस, मालपोत तिरेको रसिद तथा क्लस्टर सिँचाइको हकमा अनुसूची–३ अनुसारको प्रस्ताव संलग्न गर्नुपर्नेछ।
थप जानकारीका लागि कृषि ज्ञान केन्द्रको वेबसाइट sarlahi.akc.gov.np, सूचना पाटी वा कार्यालयमै सम्पर्क गर्न सकिने जनाइएको छ। बाली विकास अधिकृत कविन्द्र सिंह ठगुन्नासँग ९८४९७२२६६३ नम्बरमा सम्पर्क गरेर पनि विवरण थाहा पाउन सकिनेछ। आवश्यकता अनुसार केन्द्रले थप कागजात माग गर्न सक्नेछ भने बजेट वा कार्यक्रम थप भएमा सोही विधिअनुसार कार्यान्वयन गरिने जनाएको छ।






