काठमाडौं – अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकामाथि युट्युबसहितका सामाजिक सञ्जाल प्लेटफर्ममा रोक लगाउने निर्णय गरेको छ। अबदेखि यस्ता बालबालिकाले फेसबुक, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र एक्स (साविक ट्विटर) जस्ता प्लेटफर्ममा खाता खोल्न पाउने छैनन्।
सञ्चारमन्त्री अनिका वेल्सका अनुसार यो निर्णय बालबालिकालाई अनलाइन हिंसा र मानसिक असरबाट जोगाउन गरिएको हो। “दशमध्ये चारजना बालबालिका युट्युबमार्फत हानिकारक सामग्रीमा सम्पर्कमा आइरहेका छन्,” मन्त्री वेल्सले भनिन्, “हामी बालबालिकाको पहिचान सुनिश्चित गर्न चाहन्छौँ, र तिनलाई निसाना बनाउने एल्गोरिदमलाई ठाउँ दिन सकिँदैन।”

अस्ट्रेलियाको सरकारले यसअघि फेसबुक, टिकटक र इन्स्टाग्राममा १६ वर्षमुनिका प्रयोगकर्तामाथि प्रतिबन्ध लगाउने कानुनी मस्यौदा सार्वजनिक गरेको थियो। सुरुमा युट्युबलाई शैक्षिक उपयोगको कारण देखाउँदै छुट दिने तयारी भए पनि अन्ततः सबै प्लेटफर्मलाई एउटै दायरामा ल्याइएको छ।
तर युट्युबले यो निर्णयलाई ‘सरकारको अप्रत्याशित यू-टर्न’ भनेर आलोचना गरेको छ। युट्युब प्रवक्ताले भने, “युट्युब सामाजिक सञ्जाल होइन, यो भिडियो सेयरिङको प्लेटफर्म हो जहाँ शैक्षिक तथा उच्च गुणस्तरको सामग्री निःशुल्क उपलब्ध छ।” यो निर्णयलाई विश्वमै बालबालिकाको डिजिटल पहुँचमा लगाइएको कडा प्रतिबन्धमध्ये एक मानिएको छ। तर, यसलाई कसरी कार्यान्वयन गरिन्छ भन्ने विषयमा भने सरकार मौन देखिएको छ।
कानुन आगामी डिसेम्बर १०, २०२५ देखि लागू हुनेछ। कार्यान्वयन नगर्ने कम्पनीहरूलाई ४९.५ मिलियन अस्ट्रेलियन डलरसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। कानुनबारे प्रतिक्रिया दिँदै टिकटकले “सरकारले मानसिक स्वास्थ्य, अनलाइन सुरक्षा र युवा विज्ञहरूको राय उपेक्षा गरेको” आरोप लगाएको छ भने मेटाले “यो नियमले अभिभावक र किशोरमाथि अनावश्यक बोझ थप्ने” चेतावनी दिएको छ।





