सर्लाही – मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। जिल्ला अदालत काठमाडौंले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो।
झामाथि राजधानीको बानेश्वरस्थित एक होस्टलमा बस्दै आएकी युवतीमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको छ। घटनाको मिति २०८१ साल जेठ ४ गते हो। पीडितका अनुसार त्यो दिन झाले कोठामा कोही नभएको मौकामा बलात्कार गरेका थिए, र घटनापछि कसैलाई भनिए ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

घटना भएलगत्तै युवती प्रहरीमा पुगिन्। तर पीडितले प्रहरी उजुरी लिन अस्वीकार गरेको आरोप लगाएकी छन्। धेरै प्रयासपछि मात्र उनले कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लिखित जाहेरी दिएकी थिइन्। सोही कार्यालयले कात्तिक ३० गते जिल्ला प्रहरी परिसरलाई जाहेरी दर्ताका लागि पत्राचार गरे पनि प्रहरीले तत्काल कुनै कारबाही गरेन।
अन्ततः माघ ३ गते मात्र प्रहरीमा उजुरी दर्ता भयो। चैत २५ गते अदालतबाट पक्राउ अनुमति लिएपछि झा फरार भएका थिए। करिब साढे तीन महिना फरार रहेका झा साउन ४ गते काठमाडौंमै पक्राउ परेका थिए। मंगलबार सरकारी वकिलको कार्यालयले बलात्कारसम्बन्धी मुद्दा दायर गरेसँगै अदालतले बुधबार उनीमाथि पुर्पक्ष थुनाको आदेश दिएको हो।
अहिराजले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडितविरुद्ध पनि प्रतिआरोप गरेका छन्। उनले युवतीले पटकपटक आर्थिक लाभ लिन खोजेको र २० लाखमध्ये ३ लाख रुपैयाँ नगद लिएर आफू युवतीको होस्टलमा पुगेको दाबी गरेका छन्। उनका अनुसार २०८१ भदौ १८ गते युवतीले बैंक खाता दिँदै रकम माग गरेकी थिइन्।
झाले दर्ता गराएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले पीडित युवतीविरुद्ध पनि मुद्दा दायर गरेको छ। अहिराजले युवतीमाथि आपराधिक लाभ लिन खोजेको कसुरमा जाहेरी दिएका हुन्।
प्रदेश प्रमुखजस्तो संवैधानिक जिम्मेवारी सम्हालेका व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता हुनु र उनीमाथि कारबाही प्रक्रियामा भएको ढिलाइले राज्य संयन्त्रको संवेदनशीलता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ।





