सर्लाही – रौतहटमा प्रहरीले अवैध रूपमा तस्करी गरिँदै गरेको काँचो सालको काठसहित एक भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ।
जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका अनुसार, कटहरिया नगरपालिका–१ को भसेडवा गाउँबाट स्कार्पियो गाडीमा लोड गरिएको काँचो सालको गोलिया काठ बरामद गरिएको हो।

गोप्य सूचनाको आधारमा जङ्गलसहिया सव-डिभिजन वन कार्यालय र जिल्ला वन कार्यालयको संयुक्त टोलीले खटिएको थियो। उक्त टोलीले भारतको नम्बर प्लेट एमएच ०४ डीबी ६३५३ भएको स्कार्पियो गाडीलाई रोक्ने प्रयास गर्दा चालक गाडी छाडेर फरार भएको बताइएको छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहका अनुसार, गाडीभित्र लोड गरिएको ४ थान काँचो सालको गोलिया करिब ४५ क्युफिट रहेको छ, जसको अनुमानित बजार मूल्य दुई लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।
फरार चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको डिएफओ साहले जानकारी दिए। यसैबीच, डिभिजन वन कार्यालय रौतहटअन्तर्गत गैंडाटार सव-डिभिजनको अर्को टोलीले पनि सालको चिरान काठ बरामद गरेको छ।
गैंडाटार गाउँको कालापानी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रअन्तर्गतको घाटगद्दि गरिएको स्थान नजिकै तस्करीका लागि तयारी अवस्थामा राखिएको काठ दुईवटा साइकलमा लोड गरिएको अवस्थामा फेला परेको हो।





