मधेसमा विपद् व्यवस्थापन सम्बन्धी बैठक: खानेपानी आपूर्तिदेखि दमकल हस्तान्तरणसम्मका निर्णय

२०८२ श्रावण १५, बिहीबार १६:३२

सर्लाही – मधेस प्रदेशमा जलसंकटसहितका विपद् व्यवस्थापन चुनौतीहरूलाई सम्बोधन गर्न गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आज जनकपुरधाममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको छ। बैठकमा संघीय सरकारबाट हालसम्म भएका कार्यको समिक्षा गर्दै आगामी रणनीति तय गरिएको छ।

बैठकले हालै गृह मन्त्रालयमार्फत खरिद गरिएका आठ वटा दमकलमध्ये छ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। ती दमकलमार्फत खानेपानी आपूर्ति जस्ता सेवा स्थानीय तहबाटै सञ्चालन गरिनेछ भने हाल सप्तरी र पर्सामा परिचालित रहेका दुई दमकल यथावत् सोही प्रयोजनमा प्रयोग गरिनेछ।

विपद् प्रभावित क्षेत्रमा खानेपानी र सिँचाइको तत्काल समाधानका लागि संघीय सरकार तथा अन्य दातृ निकायहरूमार्फत उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सम्बन्धित मन्त्रालयहरू भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई कार्यान्वयनमा लैजान आग्रह गरिएको छ।

साथै, कार्य प्रभावकारिता वृद्धिका लागि जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेशका मन्त्रालयहरू र अन्य सरोकारवालाबीच समन्वय मजबुत पार्ने र स्पष्ट निर्देशन दिने निर्णय गरिएको छ। नेपाली सेनाबाट प्राप्त १७ वटा पानी ट्याङ्कर र एउटा बम डिस्पोजल सवारीसाधनलाई प्रचलित कानुनअनुसार अस्थायी रूपमा दर्ता गर्न प्रदेशको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकपछि गृहमन्त्री लेखीले प्रदेश सरकारले विपद् व्यवस्थापनलाई अझ सक्रिय, प्रभावकारी र दिगो बनाउने योजनासहित कार्य अघि बढाउने प्रतिबद्धता जनाए। बैठकमा नेपाली सेनासहित सुरक्षा निकाय, सरोकारवाला मन्त्रालय तथा अधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार