मलंगवा – सर्लाहीको बागमती नगरपालिका–१२ मा रहेको भरत तालमा मृत अवस्थामा भेटिएकी युवतीको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक बलरा नगरपालिका–४, बरालगोठकी २० वर्षीया विकु कुमारी सहनी हुन्।
बुधबार दिउँसो तालमा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाएको थियो। शवको पहिचान खुलेसँगै घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

हाल शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा पठाइएको छ। प्रत्यक्षदर्शीका अनुसार तालमा उनले हाम फालेकी थिइन्। प्रहरीका अनुसार बुधबार बिहान उनी घरमा झगडा गरी हिँडेको खुलेको हो। आमासँग झगडा भएपछि उनी घरबाट हिँडेकी थिइन्।





