जनकपुर – साउदी अरेबियाले आफ्ना कानुनी व्यवस्था उल्लंघन गरी विभिन्न अपराधमा संलग्न भइ जेल सजाय भोगिरहेका ६५ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजान १४४६ को अवसर पारेर साउदी सरकारले यी नेपालीहरूलाई बाँकी सजाय मिनाहा गर्दै आममाफी दिएको हो।
रियादस्थित नेपाली राजदूतावासका अनुसार साउदी सरकारले लिखित रूपमा सूचना पठाउँदै आममाफीबारे जानकारी दिएको हो। सजाय माफी पाएका नेपालीहरू साउदीका विभिन्न सहर र जेलहरूमा थुनामा थिए। तीमध्ये धेरैजसो रोजगारीका लागि साउदी पुगेका थिए तर सम्बन्धित कम्पनीबाट भागेर कानुनविपरीत क्रियाकलापमा संलग्न भएका कारण जेल परेका थिए।

साउदी अरबले लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई अवस्था र अवसरअनुसार आममाफी दिँदै आएको छ। यस्तो आममाफीका लागि सामान्यतः सरकारले ९० दिनको समयावधि निर्धारण गर्छ। साउदीको जनसंख्या हाल ३ करोड ८४ लाखजति रहेको छ, जसमा झन्डै १ करोड २० लाख आप्रवासी कार्यरत छन्।
हालसम्म कानुनविपरीत गतिविधिमा संलग्न भएको अभियोगमा ५ सय ४४ नेपाली साउदीका विभिन्न जेलमा थुनामा छन्। रमजानको अवसरमा दिइएको यो आममाफीले सम्बन्धित नेपाली र तिनका परिवारलाई केही राहत दिएको छ।





